
काठमाडौं । एक जना युवकको रौतहटको गौरमा बुधबार दिउँसो चक्कु प्रहार गरी हत्या भएको छ।
गौर नगरपालिका –५ स्थित बरहवा तालको झुलुंगे पुल नजिक करिब २० वर्षका देखिने एक युवकको हत्या भएको हो । उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको पेट र छातीमा गहिरो चक्कु प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका –३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा सनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सनोजलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

























