
काठमाडौं । नेपाल आएर मुस्लिम धर्मको प्रचार गरेको आरोपमा इन्डोनेसियाका ३ जना महिला पक्राउ परेका छन् ।
पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्मको प्रचारदेखि शंकास्पद गतिविधि गरेको आरोप उनीहरुमाथि छ । अध्यागमन विभागले नियन्त्रणमा लिइएका उनीहरुमध्ये १ जना पर्यटक भिसा र २ जना अध्ययन भिसामा नेपाल आएका हुन् ।
तर, कुनै पनि शैक्षिक संस्थामा उनीहरू भर्ना भएको पाइएन । अध्ययन भिसामा आएर उनीहरू ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेसी समाजमा गर्ल्स होस्टेल चलाउने र ती महिलाहरूलाई शिक्षकको रूपमा राखिएको पाइएको अध्यागमन स्रोतको भनाइ छ ।
स्रोतका अनुसार उनीहरूले त्यहाँ टर्कीस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्मको प्रचाप्रसार पनि गर्ने गरेको पाइएको छ । उक्त संस्थाले अन्तर्राष्ट्रिय संस्थाबाट धर्म प्रचारका नाममा प्रत्येक वर्ष २ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
अध्यागमन विभागका अनुसार उक्त होस्टेलमा ५० जना छात्राहरूलाई कुरान पढाइराखेका बेला इन्डोनेसियाका ती महिलाहरूलाई पक्राउ गरिएको थियो । त्यस्तै ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिहरूलाई कुरान पढाउने र धर्मको प्रचारप्रसार गरेको पाइएको छ ।
नेपालमा पर्यटक भिसामा बसेर विदेशी नागरिकले काम नपाइने कानुनी व्यवस्था छ । गैरकानुनी रूपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् ५० हजार रुपैयाँसम्म जरिबाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्न सकिने कानुनी व्यवस्था छ ।

























