
विराटनगर । कपडाबाट बनाइएको गुडिया (खेलौना)मा राखेर गाँजा तस्करी गर्ने १ जनालाई प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
बसमा यात्रा गरिरहेका यात्रु बिहीबार साँझ पक्राउ परेका हुन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका–७ हरिपुरबाट ती यात्रुलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ५० वर्षीय रुद्रबहादुर राई रहेका छन् । धरानबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २१८७ नम्बरको बसलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।
बसलाई खातलासी गर्दा डिकीमा ७ वटा गुडिया फेला परेको थियो । उक्त गुडियाभित्र प्याक गरिएको अवस्थामा गाँजाजस्तो देखिने वस्तु १० किलो ९ सय ४० ग्राम बरामद भएको डीएसपी खतिवडाले बताए ।
गुडियामा राखेर गाँजा तस्करी गर्ने राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























