
काठमाडौं । सर्वोच्च अदालतले सौतेनी आमाको सम्पतिमा छोराको अंश हक लाग्ने फैसला गरेको छ । न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले माइतीबाट प्राप्त गरेको निजी सम्पत्तिमा पनि सौतेनी छोराको अंश हक लाग्ने फैसला गरको हो ।
यो फैसला अंशबन्डासम्बन्धी कानुनी व्यवस्थामा नयाँ नजिर हो ।
कानुनले आमा र सौतेनी आमा तथा छोरा र सौतेनी छोरालाई फरक व्यवहार नगरेको सर्वोच्चको व्याख्या छ । सर्वाेच्चले भनेकाे छ,‘सौतेनी आमाले जुनसुकै श्रोतबाट पाएको सम्पतिमा आफ्नो उदर तर्फको छोरा सरह विमातृक छोराको पनि समान अंश हक रहने’छ ।
बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैतृक सरह हुने स्थापित हुनेछ
शशी पराजुली उप्रेतीले आफ्नी आमाबाट बकसपत्रमार्फत पाएको सम्पत्तिमा सौतेनी छोरा राहुल पराजुलीलाई अंश दिन नपर्ने जिकिर गरेकी थिइन् । मुलुकी ऐनको स्त्री अंशधन महल र अंशबन्डाको महल १८ बमोजिम आफ्नो निजी आर्जन भएकोले आफूले चाहेअनुसार गर्न पाउनुपर्ने उनको तर्क थियो ।
सर्वाेच्चको फैसलामा भनिएको छ, ‘कानुनले अंशबन्डाको प्रयोजनको लागि आमा वा छोराछोरीलाई र सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा लिएको भनी बुझ्नुपर्ने देखिन आयो ।’
अदालतले विधायिकाले सौतेनी आमाको सम्पत्ति आफ्नै हाँगातर्फ मात्र जाने परिकल्पना नगरेको स्पष्ट पारेको छ ।
सर्वोच्चले भनेको छ,‘एकभन्दा बढ्ता स्वास्नी वा एकभन्दा बढ्ता स्वास्नी पट्टीका छोराछोरी हुनेले मन परेका स्वास्नी छोराछोरीलाई मात्र बकस गर्न नहुने भन्ने कानूनी व्यवस्था गरी एकभन्दा बढी हाँगातर्फका छोराछोरी भएको अवस्थामा समेत एकै हाँगाका छोराछोरी सरह समान रुपले अंशबण्डा गर्नुपर्ने व्यवस्था गरेको देखिँदा कानूनले अंशबण्डाको प्रयोजनको लागि आमा वा छोराछोरीलाई र सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा लिएको भनी बुझ्नुपर्ने देखिन आयो ।’

























