
जनकपुर । बारामा शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पक्राउ गरेको छ ।
पर्साको बहुदरमाई घर भई प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष कुशवाहा पक्राउ परेका हुन् । उनको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेको थियो ।
घटना गत २८ साउनको हो । भिडियाेमा शिक्षक यादवलाई अर्धनग्न बनाएर हता बाँधेर कुटपिट गरिरहेको देखिन्छ ।
केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ ।
घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

























