
काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने पर्सा बिन्दवासिनी गाउँपालिका–५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५३ वर्षीय सहनशील महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका–१ घर भएका २० वर्षीय विक्रम साह र बाँके कोहलपुर नगरपालिका–१२ घर भएकी २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् ।
उनीहरूले विभिन्न मुलुकमा रोजगारी दिलाइदिन्छु भन्दै पीडितबाट लाखौँ रुपैयाँ असुलेको प्रहरीको आरोप छ । पक्राउ परेका मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार, सहनशीलले पोल्यान्ड पठाइदिन्छु भन्दै १ जनाबाट ६ लाख २५ हजार लिएका थिए ।
त्यस्तै, विक्रमले युएई पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख १० हजार र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख २३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार, सहनशीललाई कीर्तिपुरबाट, विक्रमलाई काठमाडौं महानगरपालिका–३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

























