सांकेतिक फोटो ।काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा कारागार चलान गरिएका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ३ हजार ३ सय कैदीबन्दी फरार भएका छन् ।
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट मंगलबार राति उनीहरु भागेका हुन् । कारागार प्रशासनका अनुसार करिब ३ हजार ८ सय कैदीबन्दी राखिएको थियो । तीमध्ये अहिले करिब ५ सय मात्र भित्र रहेका छन् ।
भद्रबन्दी गृहमा करिब १ सय, महिला बन्दी गृहमा पनि १ एक सय र सेन्ट्रल कारागारमा करिब ३ सयकै हाराहारीमा मात्र कैदीबन्दी रहेको स्रोतले जानकारी दिएको छ । फरारमध्ये रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
फरार भएकामध्ये केही कैदीबन्दी स्वेच्छाले फर्कन थालेको कारागार प्रशासनले जनाएको छ । हालसम्म करिब ५० जना कैदीबन्दी फर्किएको र अझै केही फर्किने क्रममा रहेको बताइएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीले मंगलबार राति करिब १० बजे सुन्धारास्थित केन्द्रीय कारागारमा तोडफोड गरेका थिए । त्यसक्रममा सुरक्षाका लागि खटिएका प्रहरीहरू भागेर नेपाली सेनाको जंगी अड्डा पुगेका थिए ।
त्यसपछि मात्रै नेपाली सेना कारागार पुगेको थियो । सेनाको टोली पुग्दा सम्ममा करिब ३ हजार ३ सय कैदीबन्दी फरार भइसकेको कारागार प्रशासनले जनाएको छ ।

























