
काठमाडौं । सहकारीको रकम अपचलन मुद्दाका अभियुक्त रवि लामिछानेलाई कारागारबाट मुक्त गराउँदा देशभरका कारागार अशान्त बनेका छन् । कारागारहरूबाट कैदीबन्दीहरु धमाधम भागिरहेका छन् ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा रहेका अपराधीहरु तोडफोड तथा आगजनी गर्दै भागिरहेका हुन् । देशभरका कारागारहरूबाट सयौं कैदीबन्दी भागिसकेका छन् ।
विभिन्न कारागारमा कुख्यात अपराधी पनि थिए । अन्य कैदीबन्दीसँगै उनीहरुले पनि भाग्ने मौका पाएका छन् । नख्खु कारागारमा भाग्न नहुने पक्षका कैदीबन्दी पनि छन् ।
नख्खु कारागारका कतिपय कैदीबन्दीले सजाय भुक्तान नगरिकन नभाग्ने अडान लिएका थिए । कारागारमा बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, पृथ्वी मल्ललगायत छन् ।
सुन्धारा कारागारबाट ३ हजार ३ सयजति कैदीबन्दी भोगेका छन् । उनीहरुसँगै भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । सुनसरीको झुम्का कारागारबाट १ हजार ४ सय बढी कैदीबन्दी भागेका छन् ।
धादिङ कारागारबाट पनि कैदीबन्दीहरू भाग्न थालेपछि सेनाले गोली चलाएको थियो । सेनाको गोली लागेर १ जनाको मृत्यु भएको छ । कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट पनि सयभन्दा बढी कैदीबन्दी बाहिर निस्किएका छन् ।
विराटनगरको बाल सुधार गृहबाट पनि बाल बिज्याइँकर्ता भागेका छन् । २ सयभन्दा बढी भागेका थिए । सुरक्षा निकाय र स्थानीयले १ सय ५० जनालाई नियन्त्रणमा लिइसकेका छन् ।
मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि प्रहरीले हवाइ फायर गरेको थियो । जलेश्वर कारागारबाट ५ सय बढी कैदीबन्दी भागेका छन् । बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।
नेपालगन्जको नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । देशभरबाट कति कैदी फरार भएभन्ने यकिन तथ्यांक छैन ।
तर, अदालतको आदेशबाट थुनामा रहेका रवि लामिछानेलाई बाहिर निकालिएपछि कारागारमा आतंक फैलिएको सुरक्षा निकायको भनाइ छ । मुलुकभरका कारागार नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीको निगरानी एवं नियन्त्रणमा रहेका छन् ।

























