सलाम जेनजी ! जसले बचाए विराटनगरको वीरेन्द्र सभागृह

Share this
680shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ भाद्र २८, शनिबार १७:५२

विराटनगर । जेनजीका नाममा सुरु भएको आन्दोलन हिंसात्मक हुँदा विराटनगरका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरियो ।

अधिकांश सरकारी संरचना जलाएर ध्वस्त पारियो । तर, सबैजसो संरचना ध्वस्त हुँदा पनि एउटा ऐतिहासिक सभागृह भने जोगिएको छ । विराटनगरको वीरेन्द्र सभागृह जोगिनुको श्रेय अनमोल लिम्बूलाई जान्छ ।

विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल जेनजी समूहको आन्दोलनमा सोमबारदेखि नै सक्रिय थिए । पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण रहयो । तर, मंगलबार अराजक समूह मिसिएपछि स्थिति हिंसात्मक बन्यो ।

अराजक भिडले आगजनी गरेर कोशी प्रदेशको प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरु र अन्य दर्जनौं सरकारी कार्यालय ध्वस्त बनायो । मोरङको जिल्ला प्रशासन र हुलाक कार्यालयमा तोडफोड गर्दै आगो झेसेर अघि बढेको समूह ‘जिन्दावाद’ र ‘मुर्दावाद’को नारा लगाउँदै विराटनगर–७ को वीरेन्द्र सभागृहमा पुग्यो ।

मुख्य गेटको ताला फुटाउँदै भित्र प्रवेश गर्यो । स्थानीयमा त्रास फैलिएको थियो । त्यतिबेलासम्ममा प्रशासन र हुलाक कार्यालयबाट उडेको धुवाँले आकाश कुइरीमण्डल भइसकेको थियो । सार्वजनिक भएको भिडियोमा पनि त्यो दृश्य देख्न सकिन्छ ।

उत्तेजित भिडले विराटनगरको ऐतिहासिक सभागृह जलाउने प्रयास गर्यो । तर, जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेका अनमोल सभागृहअगाडि खडा भए । पसिनाले भिजेको हतास अनुहारसहित काँधमा नेपालको झन्डा राखेर उभिएका उनले उक्त भिडलाई सम्झाइबुझाइ गर्न थाले ।

अनमोल लिम्बू

अनमोललाई तेजनारायण चौधरीसहितका केही जेनजी युवाले साथ दिए । त्यत्तिकैमा २–४ जना युवाहरुले सभागृहमा लुटपाट गर्न थालिहाले । केहीले भित्रबाट सामान ल्याएर मोटरसाइकलमा राख्दै ओसार्न थाले । भिडमा रहेका केहीले हातमा खन्ती, फरुवालगायत बोकेका थिए ।

तर, माहोल नियन्त्रण बाहिर जान लाग्दा पनि उत्तेजित भिडलाई अनमोलले सम्झाइबुझाइ गर्न छाडेनन् । उनले सभागृह बचाउन भूमिका खेलेको भिडियो टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वीरेन्द्र सभागृह बचाउन भिडलाई ‘कन्भिन्स’ गर्न सफल उनको चौतर्फी प्रशंसासमेत भइरहेको छ ।

सच्चा जेनजीका रूपमा सबैले उनको तारिफ गर्दै ‘सलाम जेनजी’ भनिरहेका छन् । भिडलाई सम्झाइबुझाइ गर्दै अनमोलले भनेका छन्, ‘यो हाम्रै सम्पत्ति हो । हामीलाई नै चाहिन्छ । केही पनि गर्न हुँदैन । यति राम्रो बनेको छ । ‘दाइ’ यस्तो केही नगर्नु न । यो जेनजीको आन्दोलन हो । यसमा केही नगरिदिनु न । बाहिरका सामान लैजानु, बरु भित्र नगइदिनु ।’

त्यति भन्दै गर्दा राजनीतिक दलका नेताहरुप्रति अनमोल केही आक्रोशित सुनिन्छन् । उनले आग्रह गरिरहँदा भिडको आक्रोश भने रोकिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म तोडफोड र आगजनी रोकिँदैन भन्ने धम्कीपूर्ण आवाज भिडबाट आउँछ । तर, हार नमानिकन उनी सम्झाउँछन्, ‘ओली (प्रधामन्त्री केपी शर्मा ओली)ले छोडिसक्यो । यस्ता काम छाडौं ।’

अनमोलले केही समय अनुनय विनय गर्दै आक्रोशित भिडलाई मत्थर बनाएर बाहिर निकाले । आगजनी र तोडफोडको तयारीसहित सभागृह प्रवेश गरेको समूह त्यहाँ केही नगरिकन निस्कियो । अर्को समूह प्रवेश गरेन । तर, सामान्य लुटपाट र चोरी भने भयो । आगजनी हुनबाट सभागृहलाई जोगाएपछि उनले भनेका छन्, ‘हामीले बचाउन सफल भएका छौं, यति राम्रो ठाउँलाई ।’

विराटनगरमा आन्दोलत हिंस्रक बनिरहँदा अनमोल सच्चा जेनजीका रूपमा प्रस्तुत भए । ऐतिहासिक सम्पदा ध्वस्त हुने भयो भनेर स्थानीय त्रासमा बसिरहेका बेला उनकै योगदानले सभागृह बच्यो । गेटनजिक खडा भएर उनले भिडलाई सम्झाइरहँदा स्थानीयले पनि साथ दिए ।

ढुंगामुढा गर्दै प्रवेश गरेको हुललाई रोक्दै गेटबाहिर निकाल्न उनी सफल हुँदा सभागृह सुरक्षित रहेको हो । तर, घटनापछि अनमोललाई रातभर निद्रा लागेन । भोलिपल्ट बिहानै पुगेर हेर्दा सभागृह सुरक्षित देखेपछि मन शान्त भएको उनले बताए ।

‘रातभर मनमा चिन्ता भयो । के भयो होला ? भनेर निदाउनै सकिनँ,’ उनले सुनाए, ‘भोलिपल्ट बिहानै दौडेर सभागृह पुगेँ । जस्ताको तस्तै देख्दा ढुक्क भएँ । राज्यको सम्पत्ति जोगाउन पाउँदा सन्तोष मिल्यो ।’ जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्लु तेस्रो सेमेस्टरमा अध्ययनरत अनमोल सामाजिक सञ्जालमा सक्रिय छन् ।

भिडियो बनाउन र पोस्ट गर्न रुचाउने उनले सभागृह जोगाउँदाको दृश्य पनि खिचेर सामाजिक सञ्जालमा राखे । त्यो भिडियो छोटो समयमा नै भाइरल भयो । धेरैले उनको कार्यको प्रशंसा गरेका छन् । ‘वीरेन्द्र सभागृहसँग भावनात्मक सम्बन्ध छ । स्कुल पढ्दा त्यहाँ कार्यक्रम गरेका थियौं । त्यो सम्झनाले पनि जोगाउन बल मिल्यो,’ अनमोल भन्छन् ।

 

वीरेन्द्र सभागृह

विक्रम संवत २०३० सालमा बनेको वीरेन्द्र सभागृह विराटनगरको गौरव मानिन्छ । यसलाई विराटनगर महानगरपालिकाले पुरानो आकृति सुरक्षित राख्दै करिब २३ करोड रुपैयाँ खर्चेर ‘रेट्रोफिटिङ’ गरी पुनः प्रयोगमा ल्याएको थियो । गतवर्ष रेट्रोफिटिङ पूरा भएपछि वीरेन्द्रसभा गृहलाई खुला गरिएको थियो ।

तर, १ वर्ष नपुग्दै अराजक समूहले भत्काउने प्रयास गर्यो । तर, युवाको साहसले यसलाई जोगाइदिएको छ । विराटनगरका अधिकांश सरकारी संरचना जलाइएका बेला वीरेन्द्र सभागृह सुरक्षित राख्न सफल हुँदा स्थानीयले साँच्चिकै ‘वीर युवक’ भनेर अनमोल लिम्बूप्रति सम्मान भाव व्यक्त गरेका छन् । ‘अब सभागृहमा पनि आगो लगाइन्छ कि ?’ भन्ने चिन्ता सबैतिर छाएका बेला अनमोल र उनका २ साथी अगाडि सरेर जोगाए ।

विराटनगरका अधिकांश सरकारी संरचना जलाइएका बेला अनमोल लिम्बूले भने वीरेन्द्र सभागृह जोगाउनु चानचुने विषय नभएको स्थानीय बताउँछन् । आन्दोलनबीच जन्मिएको उनको यो योगदानलाई ‘साँच्चिकै वीरताको परिचय’ भनेर स्थानीयले खुलेर प्रशंसा गरेका छन् । वीरेन्द्रसभा गृह जोगाउन पाएकोमा उनी खुसी व्यक्त गर्छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×