
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था पछिल्लो समय चर्चाको विषय बनेको छ । उनको गर्धनमा गम्भीर चोट लागेको छ ।
उपचारका क्रमा १२ वटा टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिएका थिए । बैठकमा खड्काले जेनजी आन्दोलनका नाममा अराजक समूहले आक्रमण गर्दा देउवालाई चोट लागेको र हाल उनी उपचाररत रहेको बताएका थिए ।
बैठकपछि कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवा अहिले पनि सैनिक अस्पताल छाउनीमै उपचाररत रहेको बताए । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने उनको भनाइ छ ।
विश्वकर्माका अनुसार देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि चिकित्सकहरूले थप निगरानी आवश्यक रहेको बताएका छन् । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा बुढानीलकण्ठस्थित निवासमै देउवा दम्पत्तिलाई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरेका थिए ।
त्यही घटनामा देउवालाई गम्भीर चोट लागेर टाँका लगाउनुपरेको हो । अराजक समूहले सोही दिन देउवाको घरसमेत जलाएको थियो । पत्नी आरजु राणा देउवामाथि पनि आक्रमण भयो । नेताहरूले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

























