
काठमाडौं । जेनजी प्रदर्शन हिंसात्मक बनेपछि मुलुकभरका विभिन्न कारागारबाट फरार भएका ठूलो संख्याका कैदीबन्दी अझै पनि बाहिरै रहेका छन् ।
आन्दोलन हिंसात्मक बनेर तोडफोड र आगजनी हुन थालेपछि कारागार एवं सुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीमध्ये अझै ८ हजार २ सय २६ जना कारागार बाहिरै रहेका हुन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरका २८ कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५ सय ५५ कैदीबन्दी भागेका थिए । तीमध्ये हालसम्म ६ हजार ३ सय २८ जना फर्किएका छन् भने बाँकी अझै फरार रहेको उनले बताए ।
उनका अनुसार १३ हजार ५ सय ९१ कैदी कारागारबाट र ९ सय ६४ जना बालसुधार गृहबाट भागेका थिए । फर्किएकामध्ये ५ हजार ९ सय ८७ जना कारागार तर्फका र ३ सय ४१ जना बालसुधार गृहका रहेका छन् ।
कतिपय आफैँ फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर पुनः कारागार पुर्याएको हो । आन्दोलनका क्रममा प्रहरी हिरासतमा रहेका करिब २ हजार आरोपी पनि फरार भएको प्रहरीले जनाएको छ ।
ती सबैको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन् । देशभर ३० हजार ६ सय ३४ कैदीबन्दी रहेकामा हाल २१ हजार ९ सय ९९ मात्र कारागारभित्र रहेको विभागले जनाएको छ ।
नख्खु कारागारबाट निस्किएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने पुनः जेल फर्किएका छन् । आन्दोलनको मौका छोपेर गलत कागजात तयार पार्दै लामिछाने जेलबाट निस्किएका थिए ।
पछि चौतर्फी आलोचना भएपछि उनी कारागार फर्किएका हुन् । आन्दोलनका नाममा घुसपैठ गरेका रास्वपा कार्यकर्ताको बलमा कारागारबाट जबरजस्ती लामिछाने निस्किएपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दी निस्किने र भाग्ने क्रम सुरु भएको थियो ।
लामिछानेकै कारण ठूलो संख्याका अपराधी जेल ‘ब्रेक’ गरेर फरार भए । लामिछानेले भाग्ने बाटो देखाएपछि फरार भएका अपराधीको खोजीमा प्रहरी सक्रियता बढाइएको छ । तर, आशातीत उपलब्धी हासिल हुन सकिरहेको छैन ।
आफू पनि अभियुक्त रहेको र जेलबाट बाहिर निस्किएर अपराधीलाई भाग्ने बाटो बनाइदिएको भन्दै लामिछानेको चौतर्फी आलोचना भएको थियो । आलोचना बढेपछि उनले जेलबाट निस्किनलाई कारागारले दिएको भनेर एउटा पत्र सार्वजनिक गरेका थिए ।
उक्त विवादास्पद पत्रका कारण लामिछाने थप विवादमा तानिए । कारागार प्रशासनले उक्त पत्र आफूले नदिएको स्पष्ट पारिसकेको छ । आन्दोलनकारीका नाममा पुगेको अराजक समूहले कारागारका कर्मचारीलाई नियन्त्रणमा लिएर लामिछानेको पक्षमा हुने गरी जबरजस्ती उक्त पत्र बनाउन लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

























