
विराटनगर । जेनजी आन्दोलनको नाममा भवनमा आगजनी र तोडफोड गरिएपछि विस्थापित बनेका सुनसरीको इलाका प्रहरी कार्यालय पकलीमा कार्यरत प्रहरी आइतबार आफ्नो पुरानो कार्यालयमा फिर्ता भएका छन् ।
इटहरी उपमहानगरपालिका–१७ कान्छी चोकस्थित कार्यालयको भवनमा अराजक समूहले आगजनी र तोडफोड गरेपछि प्रहरी असुरक्षित बनेको थियो । त्यसपछि पकलीबाट प्रहरी करिब १५ किलोमिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय इनरुवामा विस्थापित भएको थियो ।
इनरुवाबाटै आफ्नो जिम्मेवारी पूरा गर्दै आएको प्रहरी आइतबार पकली फर्किएको हो । प्रहरी विस्थापित भएपछि स्थानीयमा सुरक्षा चिन्ता बढेको थियो । अपराधिक घटनासमेत बढ्न थालेको स्थानीय बताउँछन् ।
स्थानीयको पहल र सक्रियताका कारण प्रहरी पुरानै कार्यालय फिर्ता आउन सम्भव भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार स्थानीयहरूले ज्ञानबहादुर बस्नेतको नेतृत्वमा पुनर्निर्माण समिति गठन गरी क्षतिग्रस्त भवनको मर्मत र पुनर्निर्माण गरेका थिए ।
समितिका अध्यक्ष बस्नेतले भने, ‘प्रहरी नहुँदा शान्ति सुरक्षामा कमजोरी आउँछ र अपराध बढ्छ । स्थानीयको सक्रियतामा मात्र प्रहरीलाई सुरक्षित रूपमा कार्यालयमा फर्काउन सक्यौं । प्रहरीले सर्वसाधारणको सुरक्षा गर्छ र हामी प्रहरीलाई सहयोग गर्छौं ।’
डीएसपी खतिवडाका अनुसार स्थानीयले स्वतः पहल गरेर भवनको मर्मत सम्भार गरिदिएका हुन् । जसको परिणामस्वरूप प्रहरीलाई पुरानो कार्यालयमा फर्कन सहज भएको छ । इनरुवाबाट फर्केका प्रहरीलाई स्थानीयहरूले फूलमाला, खादा र अबिर लगाएर भव्य स्वागत गरेका थिए ।
हाल इलाका प्रहरी कार्यालय पकलीमा इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा प्रहरी छ । यस कार्यालयको कार्यक्षेत्र इटहरी उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र रामधुनी नगरपालिका–१ देखि ७ नम्बरसम्मका वडाहरू पर्छन् । इलाका प्रहरी कार्यालय पकली २०३३ सालमा स्थापना भएको हो ।
प्रहरी पुरानो कार्यालयमा फिर्ता भएसँगै शान्ति सुरक्षाको अवस्था मजबुत बन्ने भन्दै स्थानीय खुसी भएका छन् । समुदायले फेरि विश्वासका साथ आफ्ना सुरक्षाकर्मीसँग समन्वय गर्न पाएको अध्यक्ष बस्नेत बताउँछन् ।

























