
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्नेछन् । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् ।
सरकारले आयोगलाई कार्य सम्पन्न गर्न ३ महिनाको समय दिएको छ । आयोग गठन गर्ने निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि नै मन्त्रिपरिषद्ले आन्दोलनको समयमा भएको दमन र हिंसात्मक घटनाको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो ।
पदभार सम्हालेकै दिन पूर्वप्रधान न्यायाधीशसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । जेनजीको आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ ।
सरकारले आयोगको छानबिनबाट घटना, जिम्मेवारी र भविष्यमा यस्ता घटनाको रोकथामका उपायबारे स्पष्ट प्रतिवेदन पाउने अपेक्षा राखेको छ ।

























