सांकेतिक तस्बिर ।सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा आइतबार राति एउटा समूहले धारिलो हतियार प्रहार गर्दा एक जना युवक गम्भीर घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घरमा सुतिरहेका बेला धरान–१७ का २० वर्षीय निशान राईमाथि राति ८ः१० बजेतिर खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । निशानमाथि २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र हडबडे भनिने अर्का १ जना युवकको समूहले खुकुरी प्रहार गरेको उनले बताए ।
खतिवडाका अनुसार मोटरसाइकलमा आएर खुकुरी प्रहार गरेपछि उनीहरु फरार भएका थिए । आक्रमणपछि मोटरसाइकलमै चढेर फरार भएका उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो ।
खोजी गर्ने क्रममा घटनामा संलग्न ओबिन राई खुकुरीसहित पक्राउ परेका छन् । उनलाई राति १०ः४५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पनि टाउको र बायाँ हातको औंलामा सामान्य चोट छ ।
त्यस्तै, प्रहरीले धरान–११ का २२ वर्षीय देवान राईलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका निशानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको पेट, ढाड, बायाँ कुम, कुहिनो, नाडी र दायाँ हातको कुहिनामा चोट लागेको छ । निशानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

























