
विराटनगर । जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते धरानमा भएको आगजनी एवं तोडफोडमा पत्रकार र संगीतकारसम्मको संलग्नता रहेको पाइएको छ ।
आगजनी र तोडफोड घटनामा संलग्न १ सय ५० जनाभन्दा बढी व्यक्तिको नामसहित उजुरी प्रहरीमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय धरानमा राजनीतिक दल र पीडितहरूले छुट्टाछुट्टै उजुरी दिएका हुन् ।
एमाले, कांग्रेस र माओवादीका पार्टी कार्यालयसहित निजी घरमा गरिएको तोडफोड र आगजनीप्रति असन्तुष्टि जनाउँदै दलहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उजुरी दिनेहरूमध्ये पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेताहरू उमेश थापा, सुजेन्द्र तामाङ र कार्यपालिका सदस्य सिर्जना नेपाल रहेका छन् ।
आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमध्ये पत्रकार विमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन बान्तवा राई, दीपचन्द्र राई (कान्छी) लगायतको पहिचान भइसकेको प्रहरीले जनाएको छ । माओवादी केन्द्र धरानका अध्यक्ष उद्दव लिम्बूले मात्रै ४० जनाको नामसहित उजुरी दिएको बताए ।
धरानका एमाले अध्यक्ष हर्कजङ एभेङले पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । त्यस्तै, पूर्वमेयर मेन्याङ्बोले आफ्नै घरमा आक्रमण गर्ने व्यक्तिहरू अहिलेसम्म पक्राउ नभएको भन्दै प्रहरीप्रति असन्तोष प्रकट गरेका छन् ।
स्थानीय र राजनीतिक दलहरूले अराजकता फैलाउने र हिंसामा सहभागी हुनेलाई कडाभन्दा कडा सजाय दिन सरकार एवं सुरक्षा निकायसमक्ष आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले पहिचान भएका व्यक्तिहरूलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ । तोडफोडमा संलग्न भएर भागिरहेका बाँकीलाई समेत चाँडै कानुनी दायरामा ल्याइने प्रतिबद्धता जबेगूले जनाए ।

























