
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा मंगलबार बिहान १ जना युवकको हत्या भएको छ ।
खुकुरी र बसिला प्रहार गरेर अन्दाजी ३६ वर्षीय फूर्वा तामाङको हत्या गरिएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार घटना संलग्न बिर्तामोड–७ का अन्दाजी २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको छ । दुवै जनालाई बिहान करिब ९ः३० बजेतिर पक्राउ गरिएको डीएसपी खड्काले बताए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट घटनामा प्रयोग गरिएको खुकुरी र बसिलासमेत बरामद भएको छ । घटनाको कारण पत्ता लगाउन थप अुनसन्धान भइरहेको जानकारी उनले दिए ।
मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै पत्ता लाग्ने खड्काले बताए ।

























