
इटहरी । सुनसरीको इटहरीमा लेनदेनको विवाद हुँदा कुटपिटमा १ जना पुरुषको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको कुटपिटबाट मंगलबार राति ११:२० बजेतिर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
सोही ठाउँका ५५ वर्षीय लाले चौधरीलाई रामकुमारको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । रामकुमारसँग मंगलबार राति ९ः३० बजेतिर लेनदेनको विषयमा विवाद भएको थियो ।
दुवै जनाबीच विवाद बढ्दै गएपछि लालेले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका रामकुमारलाई उनकै परिवारले इटहरीको सान्बी सिटी अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले लाले चौधरीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























