
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज छाडँदै छ ।
गत भदौ २३ र २४ गते ललितपुरमा भएको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका २३ जनालाई आज उनीहरूको परिवारको जिम्मामा छाडिने भएको प्रहरीले जनाएको छ ।
चाडपर्वलाई ध्यानमा राखेर उनीहरूलाई अनुसन्धान अधिकृतले परिवारको जिम्मामा छाड्न लागिएको बताइएको छ । ललितपुरस्थित थुनुवा कक्षमा रहेका २३ जना आरोपीलाई आजै परिवारको जिम्मामा छाड्न लागिएको हो ।
उनीहरूमाथि लागेको अपराध अनुसारको मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । विगतदेखि नै कर्तव्य ज्यान, खतरनाक अपराधी तथा गम्भीर प्रकृतिका अपराध बाहेकका आरोपीहरूलाई दसैँजस्तो चाडपर्वमा परिवारलाई जिम्मा लगाएर छाड्ने गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई चाडपर्वपछि परिवारले फेरि फर्काउने गरी छाड्न लागिएको हो । यस निर्णयले पक्राउ परेका युवाहरूले चाडपर्व परिवारसँग मनाउन पाउने भएका छन् ।
यसअघि जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो र भिडियो संकलन गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया भने अगाडि बढाएको जनाएको छ ।

























