
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ स्थित भित्री सडक खण्डबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले बुधबार राति करिब ११ः१५ बजेतिर उत्तर–दक्षिण भित्री सडकखण्डमा पैदल आइरहेका २ जनालाई चेकजाँच गर्दा उनीहरूबाट लागुऔषध फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार लागुऔषधसहित बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका २६ वर्षीय सरोज विश्वकर्मा र २१ वर्षीय सनम माझी पक्राउ परेका हुन् । माझीले बोकेको रातो रङको हाते झोलामा लुकाइ राखिएको अवस्थामा ट्रमाडोल–५० लेखिएको २ हजार ४ सय ट्याब्लेट, नाइटजासिन–१० लेखिएको १ सय ट्याब्लेट गरेर २ हजार ५ सय ट्याब्लेट तथा ल्याबोरेट लेखिएको १ बोतल लागुऔषध बरामद भएको जानकारी खतिवडाले दिए ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























