
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हराएका प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म फिर्ता भएका छैनन् । आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीले प्रहरीका हतियार लुटेका थिए ।
प्रहरीबाट लुटिएको १ महिना भइसक्दा पनि हतियार फिर्ता नभएको हो । ८ सयभन्दा बढी हतियार हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । भदौ २३ र २४ गते देशभर फैलिएको आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्ने साना–ठूला गरी १ हजार १ सयभन्दा बढी हतियार आन्दोलनकारीले लुटेका थिए ।
लुटिएकामध्ये करिब ३ सयवटा मात्र फिर्ता भएका छन् । केही हतियार सुरक्षाकर्मीहरूले बरामद गरेका थिए । प्रदर्शनका क्रममा धेरैवटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
प्रहरी र कार्यालयमा आक्रमण गर्दै प्रदर्शनकारीहरूले रायफल, पेस्तोल, रबर बुलेट बन्दुकदेखि केही स्थानमा ग्यास गनसमेत कब्जामा लिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार अझै पनि ८ सयभन्दा बढी हतियारको कुनै अत्तोपत्तो छैन ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हराइरहेका हतियार पत्ता लगाउन विशेष समिति गठन गरेर अनुसन्धानलाई तीव्र पारिएको छ । ‘कतिपय हतियार बरामद भएका छन् । केही फिर्ता पनि आएका छन् । तर, ठूलो संख्यामा अझै फेला परेका छैनन् । खोजी कार्य जारी छ,’ उनले भने ।
हतियार हराउनु अहिले सुरक्षा निकायका लागि ठूलो चुनौती बनेको छ । राजधानीदेखि सुदूरपश्चिमका विभिन्न जिल्लासम्मका प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार अहिलेसम्म फिर्ता नआउँदा सुरक्षाकर्मीहरू हतियारविहीन भएर जिम्मेवारी सम्हाल्न बाध्य भएका छन् ।
प्रहरीका अनुसार तत्कालका लागि नयाँ हतियार वितरण गर्ने प्रक्रिया सुरु गरिएको भए पनि यो दीर्घकालीन समाधान होइन । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमणका दृश्यहरू विभिन्न सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
आन्दोलनकारीहरूले प्रहरीलाई आत्मसमर्पण गर्न बाध्य बनाउने, बर्दी खोल्न लगाउने र हतियार लुट्नेजस्ता घटना भएका थिए । केही ठाउँमा आक्रमण गरेर प्रहरी कार्यालय नै आन्दोलनकारीहरूले आफ्नो नियन्त्रणमा राखेका थिए ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा राजधानीमा मात्र ३ सुरक्षाकर्मीले ज्यान गुमाए । तीमध्ये २ जना महाराजगञ्ज वृत्तमा र १ जना कोटेश्वर प्रभागमा कार्यरत थिए । अन्य थुप्रै घाइते भएका थिए । कतिपयले आत्मसमर्पण गरेर वा भागेर ज्यान जोगाएका थिए ।
लुटिएका हतियारमध्ये केही नेपाली सेनाले समेत बरामद गरेको थियो । अरु हतियार पत्ता लगाउन सेनाले प्रहरीसँग सहकार्य गर्दै विभिन्न स्थानमा खोजतलास गरिरहेको छ । प्रहरीले केही व्यक्तिलाई पेस्तोल र गोलीसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
तर, हराएका हतियारका कारण सुरक्षामा नयाँ जोखिम निम्त्याएको प्रहरी अधिकारीहरू स्वीकार्छन् । ती हतियार कहाँ र कसको हातमा पुगेका हुन् भन्ने अनिश्चितताले आगामी दिनमा आपराधिक गतिविधि बढ्ने चिन्ता थपिएको छ ।

























