
सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ बाट प्रहरीले लागुऔषध ब्राउन सुगर (हैरो हेरोइन)सहित २ जनालाई बिहीबार साँझ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीकै बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुरको भीमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनारा रहेका छन् ।
दुवै जनालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

























