
झापा । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले झापाको दमकबाट लुटेको एउटा राइफल आइतबार बिहान फेला परेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ३०३ मार्क ३ राइफल म्यागजिनसहित भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरनजिक आज बिहान बेवारिसे अवस्थामा बन्दुक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त राइफल जेनजीको हिंसात्मक आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीले गुमाएको थियो । बिहान करिब ७ः३० बजे मन्दिरको पूर्वपट्टीको गेटनजिक बेवारिसे अवस्थामा बन्दुक भेटिएको हो । घटनास्थलमा इन्स्पेक्टर नवीन राई नेतृत्वको टोली पुगेको थियो ।
प्रहरीले हतियार ल्याएर कार्यालयमा राखेको छ । उक्त राइफल लुट्नेको पहिचान भइसकेको छैन । आन्दोलनका क्रममा झापाको बिर्तामोड र दमकमा प्रहरीमाथि आक्रमण भएको थियो । कार्यालयमा आगजनी र तोडफोड गर्दै प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको हो ।
झापामा प्रहरीबाट लुटिएकामध्ये साना तथा ठूला गरेर २३ थान हतियार अझै गायब छन् । प्रहरीले अनुसन्धान अघि बढाएर खोजी तीव्र पारे पनि फेला परेका छैनन् । प्रहरी स्रोतका अनुसार २३ थान हतियार, १ सय ८० सेल अश्रुग्यास र ५ हजार ६ सय ९० राउण्ड गोली भेटिएका छैनन् ।
दमकबाट लुटिएकामध्ये ५५ राउण्ड गोली कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारीबाट शनिबार बरामद गरिएको थियो । केराको पात काट्ने क्रममा ५५ वर्षीय गंगाप्रसाद पाण्डेले गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त गोली सएलआरको रहेको प्रहरीले जनाएको छ । आन्दोलनका नाममा अराजक समूहले दमकबाट लुटेकामध्ये लामो हतियार (एसएलआर)लगायत १३ थान र त्यसको गोली ४ हजारभन्दा बढी , सानो हतियार (पेस्तोल–रिभल्वर) २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली, सर्टगन–ग्यासगन ४ थान र त्यसको १८० सेल अश्रुग्यास अझै नभेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लामो हतियार (एसएलआर) १ थान र त्यसको १ हजार ५ सय भन्दा बढी गोली , पेस्तोल–रिभल्वर ३ थान र त्यसमा प्रयोग हुने १ सय ५० भन्दा बढी राउण्ड गोली अझैसम्म गायब छन् । झापाबाट लुटिएकामध्ये ८५ थान हतियार यसअघि आन्दोलनकारीले मानव अधिकारवादीको रोहबरमा बुझाएपछि चारआलीस्थित अरिदमण गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।
प्रहरीबाट लुटिएका हतियार अझै बाहिरै रहेकाले सुरक्षा चुनौती बढेको छ । प्रहरीले हतियार बुझाउन बारम्बार आग्रह गरेको छ । तर, लुटपाटमा संलग्नले सबै हतियार बुझाउन अझैसम्म तत्परता देखाएका छैनन् ।
जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरिएका प्रहरी भवन मर्मत सम्भर एवं पुनर्निर्माणको काम भइरहेको छ । आन्दोलनपछि प्रहरी काममा फर्किएको छ । तर, सहज तरिकाले काम गर्ने वातावरण नबन्दा समुदायमा सुरक्षा चुनौती बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।

























