
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक एवं आफूलाई जेनजी अगुवा बताउने सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ (नेपाल विद्यार्थी संघ)ले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । उजुरी गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा भएको अप्रिय घटनासँग सम्बन्धित छ ।
नेविसंघले उजुरीमार्फत आन्दोलनमा विद्यार्थीहरुलाई उक्साएर आगजनी, तोडफोड र राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याइएको उल्लेख गरेको छ । त्यस्तै, सरकारी तथा निजी सम्पत्तिमा लुटपाटसमेत भएको घटनामा बालेन र सुदनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको उजुरीमा जनाइएको छ ।
नेविसंघले दुवै जनाविरुद्ध कानुनी कारबाही हुनुपर्ने माग राखेको छ । नेविसंघ केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले उजुरी दिएका हुन् । उनीहरूले उजुरीमा २४ घण्टाभित्र प्रहरीसँग जवाफको अपेक्षा राखेका छन् ।
बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान थाल्नुपर्ने माग उजुरीमा गरिएको छ । उजुरीकर्तामध्ये अशोकसिंह विष्टले भने, ‘हामीले २४ घण्टाभित्र जवाफको माग गरेका छौं । प्रहरीले सरकारी वकिलसँग परामर्श गरेर जानकारी दिने भनेको छ ।’
यसअघि पनि सुदन गुरुङसहितका केही युवा नेताहरूले आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अन्यविरुद्ध उजुरी दिएका थिए । त्यस्तै, नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दिएको छ ।

























