नेकपा (माओवादी केन्द्र)का नेताहरु पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महरा ।काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा चर्चित बनेको सुन तस्करी प्रकरणले फेरि राजनीतिक वृत्तमा तहल्का मच्चाएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलको कार्यालयले औपचारिक रूपमा अभियोगपत्र दायर गरेको छ भने पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनमाथि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।
अभियोगपत्र अनुसार २०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप)भित्र लुकाएर ल्याएको सुन प्रकरणमा महरालाई पूरक अभियोगमा मात्र प्रतिवादी बनाइएको थियो । प्रहरीले आइतबार ललितपुरको खुमलटारस्थित निवासबाट उनलाई पक्राउ गरी सीआईबीमा राखेको छ । सोमबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । उनीविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले उनलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि थुनामा पठाउने भन्नेमध्ये एउटा आदेश गर्ने छ ।
सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख अनुसार महराले आफ्ना पुत्र राहुल महरासँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले जफत गरेको ७ सय ३० वटा भेप छुटाउने प्रयास गरेका थिए । उक्त भेपमा लुकाइएको सुनबारे महरा र उनका छोरा अवगत रहेको तथा त्यसलाई भन्सार निकासीका लागि दबाब सिर्जना गरिएको प्रमाण भेटिएको सीआईबीको दाबी छ । छोरा राहुल महरा यसअघि नै पक्राउ परेर थुनामा रहेका छन् ।
यो घटनालाई सीआईबीले ठूलो आपराधिक सञ्जालको हिस्सा मानेको छ । जसमा राजनीतिक पहुँच र उच्चस्तरीय संरक्षण प्रयोग भएको देखिन्छ । स्रोतका अनुसार महराले आफ्नो राजनीतिक हैसियत र तत्कालीन सम्बन्धका आधारमा सुन जफत प्रकरणलाई ‘म्यानिपुलेसन’ गर्ने प्रयास गरेका थिए ।
यसैबीच, सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि तानिएका छन् । सीआईबीले हालै पुनमाथि औपचारिक रूपमा अनुसन्धान सुरु गरेको पुष्टि गरेको छ । प्रहरीका अनुसार पुनसँगै उनका जेठा छोरा जितेन्द्र पुन र उपराष्ट्रपति पदमा कार्यरत रहँदा सल्लाहकार रहेका जीवन गुरुङमाथि पनि छानबिन अघि बढाइएको छ ।
स्रोतका अनुसार करिब २ वर्षअघि सार्वजनिक भएका प्रमाणमा जितेन्द्र पुनले चिनियाँ क्षेत्र ताक्लाकोटमा तमसुकका आधारमा करिब ४ किलो सुन बुझेको तथ्य भेटिएको थियो । सोही लेनदेन श्रृंखलामार्फत चीन–नेपाल सीमाबाट सुन भित्र्याउने सञ्जाल क्रियाशील रहेको सीआईबीको प्रारम्भिक निष्कर्ष छ । हाल सीआईबीले सो कारोबारसँग सम्बन्धित सम्पूर्ण बैंक कारोबार, सम्पर्क विवरण, फोन र डिजिटल सञ्चार अभिलेख संकलन गरिरहेको बताइएको छ ।
सुन तस्करी प्रकरण राजनीतिक पहुँचका आधारमा दबाउन खोजिएको थियो । सुन तस्करी प्रकरणमा मुछिएपछि नै माओवादीले पुनलाई पार्टीको उपाध्यक्ष बनाएको थियो । प्रहरी स्रोतका अनुसार सीआईबीले यसअघिका अनुसन्धानमा समावेश नभएका केही पूर्वमन्त्री र व्यापारीहरूको नाम पनि संकलन गरिरहेको छ ।
सुन तस्करीमा पछिल्ला केही वर्षयता लगातार राजनीतिक व्यक्ति, सरकारी कर्मचारी, भन्सार अधिकारीदेखि व्यापारीसम्मको संलग्नता देखिँदै आएको छ । तर, यस्ता मुद्दा प्रायः राजनीतिक प्रभावमा निष्क्रिय पारिँदै आएका थिए ।
सीआईबी अनुसन्धान जारी रहेकाले आवश्यक देखिए थप व्यक्ति पक्राउ पर्न सक्ने संकेत गरेको छ । पुनको हकमा भने सीआईबीले प्रारम्भिक अनुसन्धानपछि बयानका लागि बोलाउने तयारी गरिरहेको छ ।
यी दुवै घटनाले अहिले माओवादी केन्द्रको नेतृत्व तहमै ठूलो नैतिक र राजनीतिक संकट ल्याएको विश्लेषण गर्न थालिएको छ । माओवादीले भने यो प्रकरणलाई ‘व्यक्तिगत विषय’ भन्दै बचाउ गरिरहेको स्रोतले बतायो ।

























