arjun - 1काठमाडौं । पछिल्लो समय ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा जेनजी भन्दै सरकारी कार्यालयहरू धाउने केही समूहहरू सक्रिय बनेका छन् ।
तीमध्ये जेनजीको नाममा कार्यालय–कार्यालय पुग्ने एउटा टोली अहिले विशेष चर्चामा छ । यो टोलीका अगुवामध्ये हुन् अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का २६ वर्षीय अर्जुनबहादुर शाही । उनी आफूलाई जनताको पक्षमा बोल्ने अगुवा भनेर प्रस्तुत गर्छन् । तर, वास्तवमा ठगी र चेक बाउन्सजस्ता आपराधिक मुद्दाका अभियुक्त रहेको खुलेको छ ।
शाहीको टोली नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुगेर ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा धम्कीपूर्ण शैलीमा प्रस्तुत हुँदै आएको छ । सार्वजनिक भिडियोहरूमा उनी सरकारी अधिकारीहरूसँग ‘हात हल्लाउँदै, आवाज चर्क्याउँदै, राजीनामा दिनुस्, घरबाटै थुतेर ल्याउँछु’ जस्ता अभिव्यक्ति दिइरहेको देखिन्छन् ।
त्यही क्रममा उनी नागरिक उड्डयन प्राधिकरण पुगेका थिए । त्यहाँ महानिर्देशक प्रदीप अधिकारीलाई प्राधिकरण किन घाटामा गइरहेको छ ? भनेर सोध्दै उनले राजीनामा मागे । अधिकारीले संयमित ढंगमा जवाफ दिँदै तथ्य बुझाउन खोजे पनि शाही बारम्बार उत्तेजित हुँदै ‘ठाउँ खाली गर्नुस्, अर्को मान्छे आउँछ काम गर्न’ भन्दै धम्क्याउँछन् । अधिकारीले शान्त मुद्रामा ‘सरकारले हटाओस् न त’ भन्ने जवाफ दिएको भिडियोमा सुन्न सकिन्छ ।
यही शैलीमा शाही नेपाल वायु सेवा निगम पुगे । त्यहाँ उनले निगमका अध्यक्ष युवराज अधिकारीलाई बोलाउन लगाउँदै ‘नत्र घरबाट थुतेर ल्याउँछु’सम्म भने । ज्ञापनपत्र बुझाउन आएको भन्दै उनले निगमका कर्मचारीहरूसँग अस्वभाविक व्यवहार गरे । अधिकारी तल झरेपछि पनि शाही आक्रोशित मुद्रामा रहे र ‘काम गर्न नसक्ने मान्छे किन बस्ने’ भन्दै अपमानजनक ढंगमा प्रस्तुत भए ।
त्यसपछि शाहीको टोली अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल पुग्यो । त्यहाँ पनि उनीहरूले उस्तै शैलीमा कर्मचारीहरूलाई निर्देश दिए र प्रमुख आयुक्तसँग तत्काल भेटको माग गरे । कर्मचारीले निर्धारित समयपछि भेट हुने बताएपछि उनी आक्रोशित बने र भने, ‘हामी विथआउट टाइमिङ आएका हौं, १२ वटा संवैधानिक निकायमा पुगिसकेका छौं, अख्तियारमा मात्रै किन भेट्न नमिल्ने ?’
उनको व्यवहारले सरकारी निकायहरूमा धम्की र आक्रोशको वातावरण सिर्जना गरेको देखिन्छ । तर, सबैभन्दा रोचक पक्ष के छ भने कार्यालयमा ‘अनुगमन र सुधार’को नाममा पुगेका उनै शाहीमाथि ठगी र बैंकिङ कसुरका उजुरीहरु दर्ता छन् ।
श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा उनलाई चेक बाउन्सको अभियोगमा उजुरी दिएका छन् । फुयालका अनुसार शाहीले ‘रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसको नाम’मा कम्प्युटर र क्यामेरा लिएर गएका थिए । त्यसको सट्टा ३ लाख ८० हजार रुपैयाँका ३ वटा चेक दिए । तर, खातामा रकम नहुँदा चेक साटिएन । त्यसपछि रेड स्टारको खाता नै कालोसूचीमा परेको थियो र फुयालले प्रहरीमा उजुरी दिएका थिए ।
महाराजगञ्ज वृत्तमै रोजिना थापा नामकी महिलाले पनि शाहीविरुद्ध चेक बाउन्सको उजुरी दर्ता गरेकी थिइन् । शाहीले सिटिजन्स बैंकको खाताबाट १० लाख ३० हजार रुपैयाँको चेक दिएका थिए । तर, रकम नभएकाले त्यो पनि साटिएन । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)बाट २०८१ पुस २३ गते बौद्ध प्रहरीमा समेत ७ लाख रुपैयाँ बराबरको अर्को चेक बाउन्स उजुरी परेको पत्ता लाग्यो ।
त्यति मात्र होइन, शाही वैदेशिक रोजगारी ठगीको अभियोगमा समेत पक्राउ परिसकेको पत्ता लागेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई २०८२ साल वैशाख २८ गते विभिन्न युवायुवतीलाई ‘जापान पठाइदिन्छु’ भन्दै ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

अर्जुनबहादुर शाही ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार उनी त्यतिबेला अस्पतालमा भर्ना हुने बहानामा प्रक्रिया ढिलो गराएर पछि पीडितलाई रकम फिर्ता गर्ने सहमति जनाए र धरौटीमा छुटे । सुवास तामाङ नाम गरेका व्यक्तिले उनलाई वैदेशिक ठगीको उजुरी दिएका थिए । त्यस्तै, विद्या श्रेष्ठ नामकी महिलाले पनि प्रहरी वृत्त स्वयम्भूमा १० लाख रुपैयाँ सापटी लगेर फिर्ता नगरेको र त्यसको चेक नसाटिएको भन्दै उजुरी दर्ता गरेकी छिन् ।
यो सबै आपराधिक पृष्ठभूमि हुँदाहुँदै पनि शाही अहिले विभिन्न कार्यालय धाउँदै सरकारी अधिकारीहरूलाई धम्क्याउने, निर्देशन दिने र राजीनामा माग्ने जस्ता हर्कत गरिरहेका छन् । उनीबाट पीडित भएकाहरू भने ‘ठगी गरेर धरौटीमा छुटेको मान्छेलाई सरकारले नै ‘रेड कार्पेट’ ओच्छ्याएको छ’ भन्दै न्याय पाउनेमा सशंकित बनेका छन् ।
२०५५ साल मंसिर ८ मा जन्मिएका शाहीको राजनीतिक यात्रा पनि रोचक छ । नेकपा (एमाले)का नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा शाहीले स्वतन्त्र उम्मेदवारका रूपमा भाग लिएका थिए । उनी त्यतिबेला २५ वर्ष पूरा गरेर उम्मेदवार बन्न पाएका थिए । उनको चुनाव चिह्न ‘डोजर’ थियो । तर, निर्वाचनमा एमालेका सुहाङ नेम्वाङ )सुवास नेम्वाङका छोरा) २७ हजार ७ सय ७२ मत ल्याएर विजयी हुँदा शाहीले जम्मा ५५ मत मात्र पाएका थिए ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने भएपछि शीतल निवासमा पुगेर उनले जेनजी अगुवा सुदन गुरुङसँगै हात उठाउँदै समर्थन जनाएका दृश्यहरू सार्वजनिक भएका थिए । त्यही आन्दोलनको धमासमा अहिले उनले आफूलाई ‘जनताको प्रतिनिधि’का रूपमा देखाउँदै कार्यालय–कार्यालय घुमिरहेका छन् ।
जेनजीको धमास दिएर कर्मचारीलाई धम्क्याउने र राजीनामा माग्नेजस्ता हर्कत गरिरहेका छन् । तर, उनीविरुद्धको उजुरी अनुसन्धानकै क्रममा छन् । मुद्दा अदालतमा विचाराधीन छन् । वैदेशिक ठगीमा पक्राउ परेर धरौटीमा छुटेका, बैंकिङ कसुरमा उजुरी परेका र पीडितहरूलाई पैसा नतिरेका अर्जुनबहादुर शाही अहिले पनि स्वतन्त्र रूपमा घुम्दै अनुगमनको नाममा कर्मचारीहरुलाई सार्वजनिक धम्की दिइरहेका छन् ।
राज्यका संवैधानिक निकाय र सरकारी संस्थामा उनले प्रदर्शन गरेको व्यवहारले प्रशासनिक मर्यादा, कर्मचारीको सम्मान र कानुनी शासनप्रति नै प्रश्न उठाएको छ । पीडितहरूले भने ठग र अभियुक्तहरूलाई जेनजीको नाममा नायक बनाउने प्रवृत्तिले न्याय नै कमजोर बनाइरहेको गुनासो गरेका छन् । ‘वैदेशिक ठगी र बैंकिङ कसुरका अनेक अभियोग झेलिरहेको व्यक्ति अहिले सरकारी निकायहरूमा ‘राजीनामा दिनुस्, होइन भने थुतेर ल्याउँछु’ भनी धम्क्याउँदै हिँड्छ । यही हो अहिलेको विडम्बना,’ प्रहरीका १ जना अधिकारीले भने ।

























