मोरङमा तिहार लक्षित कडा सुरक्षा

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३, सोमबार १७:१५

विराटनगर । सुरक्षाकर्मी व्यापक परिचाल गर्दै मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । तिहारलाई लक्षित गरेर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

ठाउँ–ठाउँमा सादा पोसाकका प्रहरी पनि खटाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले तिहार पर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाइएको जानकारी दिए । जताततै हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व तिहारको रौनक छ । छठलगायतका पर्व पनि नजिकिँदैछन् । चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ,’ उनले भने ।

चाडपर्वका समयमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी सचेत रहेको र त्यही हिसाबको सक्रियता बढाइएको उनको भनाइ छ । विशेष सतर्कता अपनाउन र सुरक्षा कडाइमा ध्यान दिन प्रहरीलाई निर्देशन दिएर एसपी कटवाल आफैं फिल्डमा निस्किने गरेका छन् । कटवालले चोरी तस्करी, अवैध धन्दा तथा सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रको नियमित अनुगमन पनि गरिरहेका छन् । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन मातहतका युनिटलाई निर्देशन दिएका छन् ।

मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी राजेश घिमिरे पनि आफैं फिल्डमा निस्किने गरेका छन् । विशेष गरेर सशस्त्र प्रहरीले सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । साथै, चाडपर्वलाई लक्षित गरेर नेपाल प्रहरीलगायतका निकायसँग समन्वय गर्दै उचित सुरक्षा व्यवस्था मिलाउन सशस्त्र खटिएको एसपी घिमिरेको भनाइ छ ।

चाडपर्वलाई उल्लासमय एवं हर्षोल्लासपूर्ण, भयरहित, मर्यादित र सुरक्षित बनाउन सबै उपाय अवलम्बन गरिएको मोरङका एसपी कटवालको भनाइ छ । उनका अनुसार जिल्लाभर प्रहरी सक्रियता व्यापक बनाइएको छ । ‘ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मर्यादाभित्र रहेर चाडपर्व मनाउने वातावरण बनाउन अन्य सुरक्षा निकायसँग पनि समन्वय गरिएको छ । चाडपर्वलाई अपराधरहित बनाउन प्रहरी अहोरात्र खटिएको छ,’ एसपी कटवाल भन्छन् ।

चाडपर्व लक्षित विशेष सुरक्षा व्यवस्था मिलाउँदै त्यही अनुसार जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । नेपालीको सांस्कृतिक पहिचान बोकेको पर्वलाई मर्यादित तवरबाट रमाइलो र हर्षोल्लासपूर्ण बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने उनले बताए । ‘जनताले निडर, सुरक्षित र भयरहित वातावरणमा पर्व मनाउन पाउने वातावरण तयार पार्ने दायित्व प्रहरीकै हो,’ कटवाल भन्छन् ।

पर्वको अवसरमा हुने चोरी, तस्करी, कालोबजारी, मदिरा तथा लागुऔषध ओसारपसार, जुवातास, झैझगडालगायतका अपराधलाई प्रहरीले मुख्य सुरक्षा चुनौतीका रूपमा लिएको छ । ‘उत्सवको नाममा अपराधको बढोत्तरी हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी सजग, संवेदनशील र उत्तरदायी भएर खटिएको छ । कानुनविपरीतका गतिविधि गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने छ,’ उनी भन्छन् ।

आफ्नो सुरक्षामा सर्वसाधारण स्वयं सचेत हुनुपर्ने बताउँदै एसपी कटवालले कुनै घटना हुन लागेमा वा शंकास्पद गतिविधि भएमा तत्काल प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गरेका छन् । सीमा क्षेत्रमा निगरानी बढाउँदै चोरी, तस्करी र अवैध मदिरा तथा लागुऔषधको ओसारपसार रोक्न जनशक्ति परिचालनलाई प्रभावकारी बनाइएको एसपी कटवाल बताउँछन् ।

तिहारलाई लक्षित गरेर सादा पोसाकमा प्रहरी खटाउँदै र सीसीटीभीको निगरानी गर्दै आकस्मिक प्रतिक्रिया टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । पर्वमा सवारी दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधन र मादक पदार्थ सेवन (मापसे) गरी गाडी चलाउनेलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको तयारी छ । ‘जोखिमयुक्त मार्गहरूमा प्रहरीको उपस्थिति बलियो बनाइएको छ । ठाउँ–ठाउँमा खटिएका प्रहरीले चेकजाँच व्यापक बनाएका छन्,’ कटवालले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूूल्यवृद्धि गर्ने तथा वस्तुको कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । उपभोक्तालाई उपभोग्यलगायतका वस्तुको सहज उपलब्धता तथा वस्तुको कालोबजारी रोक्न जिल्ला प्रशासन, प्रहरी, उद्योगी, व्यापारीलगायतका सरोकारवाला निकायको समन्वयमा निगरानी बढाइएको जानकारी उनले दिए ।

‘मेला, पूजास्थल, संगम तथा भिडभाड हुने स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ,’ प्रजिअ यादवले भने, ‘बैंक, सुनचाँदी पसल, बजार क्षेत्र र सार्वजनिक स्थलहरू उच्च निगरानीमा छन् ।’ चाडपर्वका बेला नागरिकको जीवन र सम्पत्तिको रक्षामा स्थानीय प्रशासनले भूमिका खेल्ने जानकारी उनले दिए ।

जिल्लामा कुनै अप्रिय घटना हुन नदिन संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मजबुत पारिएको प्रजिअ यादवको भनाइ छ । चाडपर्वलाई मर्यादित र हर्षोल्लासपूर्ण बनाउन नागरिकहरूलाई सचेत पार्ने र समुदायलाई प्रेरित गर्ने काम गरिएको उनले बताए ।

‘जनताले विश्वास बढाउने गरी सुरक्षा कडाइ गरिएको छ । हरेक नागरिकले शान्त, सुरक्षित र उल्लासपूर्ण वातावरणमा पर्व मनाउने वातावरण बनाइएको छ,’ प्रजिअ यादवले भने । तिहारको उज्यालोसँगै सर्वसाधारणले निडर र सुरक्षित तवरबाट चाडपर्व मनाउने परिस्थिति बनाउन प्रशासनले सबै उपाय लगाएको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.