मोरङको लेटाङमा बीभत्स अवस्थामा भेटियो बालिकाको शव, बलात्कारपछि हत्या गरिएको आशंका

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १७:५४

विराटनगर । मोरङको लेटाङमा २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको हो । उक्त वन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ । बीभत्स अवस्थामा शव भेटिएको दृश्य अत्यन्तै भयावह रहेको स्थानीय बताउँछन् । घटनापछि स्थानीय त्रसित एवं स्तब्ध बनेका छन् ।

एसपी कटवालले अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको जानकारी दिए । कुहिएको शवका कारण वरपर दुर्गन्ध फैलिएको उनले बताए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो करिब १ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैं घटनास्थल पुगेका छन् । अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् । अभिभावक कसैलाई पनि केही नभनिकन बेपत्ता भएकी उनको शव २ सातापछि जंगलमा बीभत्स अवस्थामा भेटिएको हो ।

अंशु गौतम

अंशु बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरीलगायतका सरोकारवालालाई आग्रह गरेका थिए । लामो समयदेखि खोजी जारी राखिएको भए पनि केही पत्ता लागेको थिए । अन्ततः सडेर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएकाहरुले बीभत्स शव फेला पारेका हुन् ।

घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको एसपी कटवालले बताए । कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

‘शव बीभत्स र टाउको एवं शरीर अलग गराएको अवस्थामा छ । घटना शंकास्पद देखिन्छ । कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ । जंगली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुन सक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । चाँडै वास्तविकता पत्ता लाग्ने अपेक्षा छ,’ एसपी कटवालले भने । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट यौनजन्य अपराध हो कि जंगली जनावरले आक्रमण गरेको हो भनेर यकिन हुन सकेन ।

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् । उनका अभिभावक अत्यन्तै सामान्य आर्थिक अवस्थाका छन् । वडाध्यक्ष तिम्सिनाले भने, ‘बालिकाको मृत्युले सिंगो गाउँ स्तब्ध एवं त्रसित बनेको छ। यस्तो निर्दयी घटना हामीले सोच्न पनि सक्दैनौँ । दोषी जोसुकै होस्, कानुनको कठघरामा उभ्याउनुपर्छ ।’

घटनापछि परिवार, आफन्त एवं गाउँमा शोक र आक्रोश फैलिएको छ । बीभत्स अवस्थामा शव फेला परेकाले बालिकाको हत्या नै भएको बताउँदै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

शव फेला परेको घटनास्थलमा भेला भएका स्थानीय र एसपी कवित कटवालसहितको प्रहरी टोली ।

वडाध्यक्ष तिम्सिना पनि घटनाको प्रकृति हेर्दा बालिकाको हत्या नै भएको हुनसक्ने अनुमान गर्छन् । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धान अघि बढाएपछि मृत्युको कारण स्पष्ट हुने एसपी कटवालको भनाइ छ । ‘कसैले धारिलो हतियार प्रहार गरेर हत्या गरेको हो वा जंगली जनावरको आक्रमणबाट घटना भयो भनेर यकिन छैन । विस्तृत अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुन्छ,’ उनले भने ।

घटनास्थल र घटनाको प्रकृति हेर्दा बलात्कारपछि धारिलो हतियार प्रहार गरेर बालिकाको हत्या गरेजस्तो देखिने प्रहरी स्रोतको भनाइ छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित प्रमाण संकलन गरेको छ ।

अंशु गौतमको शव फेला परेको स्थानबाट घटनासँग सम्बन्धित प्रमाण संकलन गर्दै प्रहरी ।

प्रहरीले वरपर बस्तीका केही व्यक्तिहरूमाथि सोधपुछ पनि गरिरहेको छ । घटनाले मानवतामाथि गम्भीर प्रश्न उठाएको वडाध्यक्ष तिम्सिना बताउँछन् । ‘बालिका हराएको दिनदेखि नै सबै मिलेर खोजी तीव्र पारिएको थियो । बेपत्ता भएको जानकारी प्रहरीलाई पनि थियो । अहिले आएर अत्यन्तै बीभत्स अवस्थामा शव भेटियो,’ उनले भने ।

एसपी कटवालले घटनाको अनुसन्धानलाई तीव्र बनाइएको बताए । पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि घटनाको थप निष्कर्षमा पुगिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.