
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको बीभत्स शव फेला परेको प्रकरणको अनुसन्धानमा अनेक जटिलता देखा परेका छन् ।
दुई सातादेखि बेपत्ता रहेकी अंशुको शव शुक्रबार दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो । टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको शवले गाउँमा त्रास र आक्रोश फैलाएको छ । तर, प्रहरी अझै घटनाको निश्चित निष्कर्षमा पुग्न सकेको छैन ।
अंशु असोज २१ गते दिउँसो करिब साढे चार बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । उनी कहाँ र किन गइन् भन्ने कुरा परिवारलाई थाहा थिएन । प्रहरी, स्थानीय र आफन्तले खोजी गरे पनि उनको अत्तोपत्तो थिएन । सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको खबर अचानक अभिभावकले पाए ।
शुक्रबार दिउँसो करिब १ः३० बजेतिर घाँस काट्न गएका स्थानीयले जंगलमा दुर्गन्धित शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट एसपी कवित कटवालको टोली घटनास्थल पुगेको थियो ।
मोरङ प्रहरी प्रमुख कटवालका अनुसार शव अत्यन्त क्षतविक्षत एवं बीभत्स अवस्थामा भेटिएको थियो । ‘टाउको र शरीर छुट्टिएको छ । प्रारम्भिक रूपमा धारिलो हतियार प्रयोग भएको देखिन्छ,’ उनले भने, ‘तर, शव कुहिएको र जंगल क्षेत्रमा फेला परेको कारण जंगली जनावरको आक्रमणबाट पनि मृत्यु हुन सक्ने सम्भावना नकार्न सकिँदैन । घटनाको यथार्थ अनुसन्धानपछि मात्रै पत्ता लाग्छ ।’
घटनास्थलमा अंशुले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । यस्ता संकेतले बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर, शव निकै सडेको र बिग्रेको अवस्थाले अनुसन्धानमा ठूलो चुनौती थपिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
शवको शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ । प्रहरीका अनुसार पोस्टमार्टमपछि डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । ‘अभिभावकले शव अंशुकै भएको बताएका छन् । तर, डीएनए रिपोर्ट आउँदासम्म हामीले औपचारिक पुष्टि गर्न सक्दैनौं,’ प्रहरी स्रोतले भन्यो ।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । उनका बाबुआमाको आर्थिक अवस्था कमजोर छ । वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले भने, ‘उनी अत्यन्तै सामान्य परिवारकी बालिका थिइन् । दुई सातापछि टाउको र शरीर छुट्टिएको अवस्थामा शव भेटिँदा सिंगो गाउँ स्तब्ध भएको छ । यस्तो निर्मम अपराधले हाम्रो समाज कहाँ आइपुगेको हो भन्ने प्रश्न उठाएको छ ।’
स्थानीय अहिले आक्रोशित छन् । उनीहरूले यस घटनालाई योजनाबद्ध हत्या भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । वडाध्यक्ष तिम्सिनाले पनि घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या भएको ठम्याउन सकिने बताए । ‘अंशु हराएको दिनदेखि नै खोजीमा हामी सक्रिय थियौं । तर, यस्तो रूपले भेटिन्छे भनेर कसैले कल्पना पनि गरेका थिएनौं। अहिले सबै गाउँ र परिवार आघातमा छन्,’ उनले भने ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ५ सदस्यीय विशेष टोली गठन गरेको छ । टोलीले शनिबारबाट घटनास्थल वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन तथा शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गर्न सुरु गरेको छ । तर, अनुसन्धानमा जटिलता धेरै छन् ।
शव कुहिएको र प्रमाणहरू नष्ट हुन थालेका कारण घटनाको सत्यतथ्य निकाल्न प्रहरीलाई कठिन भइरहेको छ । अंशुको घर, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीहरूसँग पनि प्रहरीले क्रमशः सोधपुछ गरिरहेको छ ।
तर, अहिलेसम्म घटनामा संलग्न कसैको पहिचान हुन सकेको छैन । प्रहरीले विभिन्न प्रमाण संकलन गरेर अनुसन्धानलाई विस्तार गरेको छ । अंशुका अभिभावक र आफन्त भने शोक र पीडामा डुबेका छन् । आमा बिनाले छोरीको शव देख्नेबित्तिकै रुँदै भनिन्, ‘हामीले हरेक दिन उसलाई पर्खिएर बस्यौं । कहिल्यै यस्तो रूपले भेटिन्छे भन्ने सोचेका थिएनौं । जसले यो काम गर्यो, उसलाई कडा सजाय दिनुपर्छ ।’
लेटाङका स्थानीयले अनुसन्धानलाई मजबुत बनाएर घटनाको वास्तविकता पत्ता लगाउन लगातार प्रहरीलाई दबाब दिइरहेका छन् । यो कुनै एक्कासि घटेको घटना नभएर नियोजित अपराध भएको उनीहरुको तर्क छ । उनीहरूले बालबालिकाहरूको सुरक्षाका लागि विद्यालय र गाउँस्तरमै निगरानी सशक्त बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।
प्रहरीले भने घटनालाई अत्यन्त संवेदनशील मानेर अनुसन्धान अगाडि बढाइएको जनाएको छ । ‘पोस्टमार्टम रिपोर्ट, डीएनए परीक्षण र फरेन्सिक अनुसन्धानपछि मात्र घटनाको वास्तविकता खुल्नेछ,’ एसपी कटवालले भने, ‘घटनाको प्रकृति हेर्दा गम्भीर आपराधिक गतिविधिको संकेत मिलिरहेको छ ।’
हालसम्म घटनासँग सम्बन्धित कुनै सुराक नपाएको प्रहरीले जतिसक्दो चाँडो यसको वास्तविकता बाहिर ल्याउने प्रतिबद्धता भने जनाएको छ । विद्यालयका साथीहरू, शिक्षक र गाउँलेहरू सबैले अंशुका लागि न्यायको माग गरिरहेका छन् ।
एसपी कटवालले घटनाको यथार्थ पत्ता लगाउँदै अपराधीलाई छिटो पहिचान गरेर कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । तर, घटनास्थल, परिस्थिति र घटनाको प्रकृतिले अनुसन्धानमा गम्भीर जटिलता खडा गरेको छ । अंशुको परिवार भने न्यायको प्रतीक्षामा छ ।
मोरङको लेटाङमा बीभत्स अवस्थामा भेटियो बालिकाको शव, बलात्कारपछि हत्या गरिएको आशंका

























