
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने पदार्थसहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई ७ किलो २ सय ९५ ग्राम गाँजासहित नियन्त्रणमा लिएर शनिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका २५ वर्षीय हरगोबिन्द सिंह, महाराष्ट्रका १९ वर्षीय समीर र बिहारका २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन् ।
केन्द्रिय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार विमानस्थलको भन्सार क्षेत्रबाट शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो । एयर एसियाको उडानमार्फत थाइल्याण्डको बैंककबाट काठमाडौँ आएका हरगोबिन्द र समीरको झोलाबाट ३ किलो ५ सय ४० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको उनले बताए ।
त्यस्तै, इन्डिगो एयरको उडानद्वारा भारतको मुम्बईबाट काठमाडौं आएका फिरोज सम्पदको सामानबाट ३ किलो ६ सय ५५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विमानस्थल सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएपछि उनीहरूको झोला खोलेर जाँच गर्दा गाँजा फेला परेको हो ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ । डीआईजी घिमिरेले पक्राउ परेकाले कसरी र कसको सहयोगमा गाँजा नेपाल भित्राएका हुन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशी नागरिकहरूले लागुऔषध नेपाल भित्र्याउने र तेस्रो मुलुकमा लैजाने प्रयास बढ्दै गएको छ । यसअघि पनि थाइल्याण्ड, भारत, मलेसिया र दुबईबाट आएका केही यात्रु विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ परेका थिए ।
त्रिभुवन विमानस्थलमा खटिएका सुरक्षा अधिकारीहरूका अनुसार पछिल्लो समय यात्रुहरूको झोलामा कपडाभित्र लुकाएर, खाद्यान्न प्याकेजभित्र राखेर वा गिफ्टको रुपमा देखाएर लागुऔषध ल्याउने प्रयास भइरहेका छन् । प्रहरीले यस्तो गतिविधि रोक्न प्रविधिको प्रयोग गर्दै निगरानी बढाइएको जनाएको छ ।

























