
काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको रुपैयाँ र पहेँलो धातुसहित नेपाली र चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको १ करोड १० लाख ७० हजार रुपैयाँ नगद र ठुलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातुका गरगहनासहित एक नेपाली र एक चिनियाँ नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति ११ : ३० बजेतिर काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्याङस्थित एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका–२ घर भई हाल नागार्जुन–२ मा बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनको बेइजिङ घर भई हाल सोही स्थानमा बस्दै आएका ३८ वर्षीय चिनियाँ नागरिक जियाओ यानहुईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट १ करोड १० लाख ७० हजार रुपैयाँ नगद, सुनजस्तै देखिने झुम्का, बाला, औँठी, शिरबन्दी लगायतका गरगहना, ६ थान मोबाइल, एक थान एप्पल म्याकबुक प्रो, बीवाइडी कार, रोजिनाको नागरिकता, जियाओको राहदानी र विभिन्न बैंकका ४ थान चेकबुक बरामद गरेको प्रहरीले जनाएको छ ।

























