
विराटनगर । कोशी प्रदेशको झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।
झापाको कमल गाउँपालिका–५ का विष्णु राजवंशीलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
राजवंशीले घरबाट प्रतिबन्धित औषधि बिक्री वितरण गरिरहेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले घरमा छापा हानेको थियो । त्यस क्रममा राजवंशीले बिक्री वितरण गरिरहेको अवस्थामा ट्रामाडोल ८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेटसहित पक्राउ परेका थिए ।
प्रहरीका अनुसार प्रतिबन्धित औषधि बिक्री वितरण कार्यमा संलग्न रहेको आरोपमा सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमिरे ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनको साथबाट लागुऔषध ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित पक्राउ परेका हुन् ।
धरान उपमहानगरपालिका–५ का रेहान लिम्बूलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरान पक्राउ गरेको छ । विभिन्न किसिमका लागुऔषध ३ सय १७ ट्याब्लेटसहित नियन्त्रणमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

























