
विराटनगर । झापा, शिवसत्ताक्षी नगरपालिका–१० का सरोज शर्माकाे सुन खरिदबिक्रीको बहानामा हत्या भएकाे खुलेकाे छ । काठमाडौं बस्दै आएका शर्मालाई सस्तो सुन देखाउने बहानामा अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडा सामुदायिक वनमा लगेर हत्या भएकाे हाे । घटनामा संलग्न दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
दसैँ मान्न घर आएका सरोज शर्मा सस्तो सुनको खोजीमा थिए । सोही टोलका साथी सुनिल साहलाई उनले सुन चाहिएको बताएका थिए। शर्माले आफू थोरै सुन किन्ने र काठमाडौंमा थप ग्राहक रहेको जानकारी दिएका थिए । छठपछि काठमाडौं फर्किने तयारीमा रहेका शर्मासँग रहेको पैसा लुट्ने योजना सुनिल र उनका नाताले भान्जा पर्ने छिमेकी २३ वर्षीय राहुल साहले बनाएका थिए । सुन देखाउने बाहानामा जंगल लगेर शर्मालाई बेहोस बनाई अपहरण गर्ने, पैसा लुट्ने र परिवारसँग फिरौती माग्ने याेजना बनाएका थिए । तर, हताैडाले प्रहार गरी शर्माकाे हत्या गरे ।
यस्ताे थियाे घटना
कात्तिक ९ गते बेलुका पूर्वयोजनाअनुसार शर्मालाई सुन देखाउन भन्दै दहीझोडा सामुदायिक वनमा लगियो । सुन राखिएको स्थान भन्दै जंगलमा माटो खोस्रिरहेकै बेला शर्माको टाउकोमा पछाडिबाट हतौडाले प्रहार गरियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, हतौडा प्रहारपछि शर्मा चिच्याएकाले आवाज बाहिर नजाओस् भनी पटकपटक टाउकोमा प्रहार गरी उनको हत्या गरेकाे देखिन्छ ।
घटनास्थलमै शर्माको मृत्यु हुँदा साँझ परिसकेको थियो । आरोपीहरूले शर्माको शवलाई सेउलाले छोपेर उनी सवार गाडी जंगलमै छाडेर सुनिलको गाडीमा फर्किए । राति एक जना भारतीय नागरिकलाई लिएर फेरि घटनास्थल पुगे । डिएसपी खड्काका अनुसार, भारतीय नागरिकको सहयोगमा शर्माको शवलाई मृतककै गाडीमा राखेर हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका खण्डको बिरिङ खोलाको पुलमुनि लगेर गाडिएको थियो । त्यसपछि प्रमाण नष्ट गर्न शर्माको गाडीलाई जलाइएको थियो । गाडी जलाउने क्रममा सुनिलको दुवै हात आगोले जलेको प्रहरीले जनाएको छ ।
भाग्दा भाग्दै पक्राउ
शर्मा कात्तिक ९ गते ‘कार धुनु छ’ भन्दै घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन भए । परिवारले भोलिपल्ट प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा गत बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार जलेको अवस्थामा फेला परेको थियो । गाडी भेटिएको दुई दिनपछि शनिबार शर्माको शव फेला परेको हो ।
मुख्य योजनाकार सुनिल साहलाई भारततर्फ भाग्दै गर्दा विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट पक्राउ गरिएको हो । राहुल साहलाई भने घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेकाे हाे । शव व्यवस्थापनमा प्रयोग भएका भारतीय नागरिक भने फरार छन् । फरार रहेका व्यक्ति सुनिलका नातेदार हुन् ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार सुनिल यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । करिब १० वर्षअघि एसएलसी परीक्षा चलिरहेका बेला उनी मोटरसाइकल चोरीको मुद्दामा पक्राउ परेका थिए । त्यसयता उनी लागुऔषध मुद्दामा पनि पक्राउ परेका थिए । झगडालु प्रवृत्तिका कारण टोलका बासिन्दा उनीसँग आजित भएको स्थानीयले बताएका छन् । घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीयले दुवै आरोपीको घर तोडफोड गरेका थिए ।

























