
विराटनगर । प्रहरीले झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित पाँच जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रणमा सक्रियता बढाएको प्रहरीले कार्तिक २० गते चलाएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सबैभन्दा ठूलो परिमाणमा लागू औषधसहित झापाबाट एक जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले मेचीनगर नगरपालिका- ६ बाट चेकजाँच गर्ने क्रममा दमक नगरपालिका- ५ का ३१ वर्षीय राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। श्रेष्ठको साथबाट प्रहरीले ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर- १६ बाट मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ। को. ४ प ७४२ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैचा- १० का २८ वर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा- ९ का ३८ वर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
झापामै भएको अर्को घटनामा वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर- ५ बाट भद्रपुर- ४ का ३० वर्षीय पुरण बिश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
ब्राउन सुगरबाहेक प्रतिबन्धित औषधीसहित एक जना पक्राउ परेका छन्। प्रहरी चौकी चारआलीले मेचीनगर- १३ बाट मेचीनगर- ३ का ३० वर्षीय प्रशान्त सेन्चुरीलाई प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबै पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूमाथि लागू औषध नियन्त्रण ऐनबमोजिम थप कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।

























