
विराटनगर । प्रहरीले भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर विमानस्थलको कम्पाउन्ड परिसरबाट बिलबिजकभन्दा बढी लत्ताकपडा (साडी र कुर्तासरुवाल) ओसारपसार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक कबित कटवालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका– ४ स्थित विमानस्थल कम्पाउन्ड परिसरभित्र चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का मनिष यादवले चलाएको प्रदेश १–०४–००२ प ६५४० नम्बरको स्कुटरमा कपडा ल्याई विमानस्थलको कम्पाउन्ड परिसरभित्र छाडेर फरार भएको देखिएको थियो ।
यादवको खोजतलास गर्दा विराटनगर महानगरपालिका – ४ स्थित शारदा अग्रवालको घरमा भेटिएका थिए । उक्त घरमा खानतलासी गर्दा प्रदेश १–०४–००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरी राखेको अवस्थामा थप कपडा बरामद भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा प्रहरीले विराटनगर महानगरपालिका – ४ बस्ने तनवीर मुस्ताकिन पनि प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























