
विराटनगर । मोरङ जिल्ला पछिल्लो समय गम्भीर आपराधिक घटनाहरूको चपेटामा परेको छ । पछिल्लो तीन महिनाको अन्तरालमा मोरङका अलग–अलग स्थानमा नग्न र क्षतविक्षत अवस्थामा फेला परेका दुई बालिकाको शवले स्थानीय समुदायमा त्रास र आक्रोश पैदा गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । शव सडेको अवस्थामा फेला परेकाले मेडिकल रिपोर्टबाट बलात्कार पुष्टि हुन सकेको छैन। दुवै घटनाको अनुसन्धानमा प्रहरी टोली सक्रिय रहे पनि परिणाम हात पार्न सकिरहेको छैन ।
लेटाङकी १३ वर्षीया अंशुको निर्मम हत्या
लेटाङ नगरपालिका–२, स्कुलचोकबाट पिङ खेल्न निस्किएकी १३ वर्षीया अंशु गौतम गत असोज २१ गते बेपत्ता भएकी थिइन् ।
बेपत्ता भएको झन्डै दुई हप्तापछि कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको क्षतविक्षत अवस्थामा शव भेटिएको थियो ।
शव शरीर र टाउको छुट्टिएको तथा शरीरमा कपडा नभएको अवस्थामा फेला परेको थियो । चप्पल र कपडाका आधारमा मात्र शवको पहिचान भएको थियो ।
प्रहरीले अनुसन्धानका सबै विधि प्रयोग गरे पनि हत्यारासम्म पुग्न सकेको छैन । बालिकाले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान थप जटिल बनेको छ । हाल प्रहरी पोलिग्राफ जाँचमा केन्द्रित रहेको मोरङ प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले अनुसन्धानका सबै विधि प्रयोग भइरहेको बताइन् । उनले भनिन्, ‘बालिका घरबाट पिङसम्म पुगेको देखिन्छ, तर पिङबाट कसरी जंगलमा पुगिन् भन्ने खुलेको छैन। हामी निष्कर्षमा पुगिसकेका छैनौं, संयुक्त टोलीबाट अनुसन्धान जारी छ ।’
बुढीगंगामा बेवारिसे शव
गत असार २८ गते बुढीगंगा क्षेत्रस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनार मा झाडीभित्र अन्दाजी १४–१५ वर्षकी एक बालिकाको नग्न र सडेको अवस्थामा शव फेला परेको थियो ।
शवमा किरा परिसकेको र दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना भएको ४ महिना बितिसक्दा पनि मृतक बालिकाको पहिचान खुल्न सकेको छैन । प्रहरीले देशभर र भारतीय पक्षलाई समेत हुलिया पठाएर खोजी गर्दा पनि पहिचान हुन नसकेको डीएसपी चुँडालले बताइन् ।
कतैबाट बालिका हराएको सूचना नआएपछि प्रहरीले मृतक नेपाली नभएको हुन सक्ने निष्कर्ष निकालेको छ ।
प्रहरीले डीएनए रिपोर्ट र हुलियाको विवरण सुरक्षित राख्दै बेवारिसे शवको अन्त्यष्टिका लागि विराटनगर महानगरपालिकालाई पत्र लेखेको छ । हाल यो घटनाको अनुसन्धान मुल्तबीमा राखिएको छ ।

























