
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चमकदमक चलिरहेका बेला त्यसैका आडमा अनलाइन सट्टेबाजीको धन्दा चलाइएको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङमार्फत खेलको हार–जितमा अवैध रूपमा रकम लगाएर सट्टेबाजी सञ्चालन गर्दै आएका ८ जना भारतीय नागरिकलाई बल्खु क्षेत्रबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न अनलाइन बेटिङ साइट प्रयोग गरी खेलको नतिजामा प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यसहित निरन्तर कारोबार गर्दै आएका थिए ।
साइटमार्फत रकम चलाइएपछि उनीहरू बसेको ठेगाना पहिचान गरी प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा भारतको आन्ध्रप्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।
उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरेर प्रहरीले विस्तृत प्रविधियुक्त अनुसन्धान सुरु गरेको छ । बरामद मोबाइलमा उच्च हिसाबको अनलाइन ट्रान्जक्सन, बेटिङ ग्रुप र खेलको प्रत्यक्ष नतिजासँग जोडिएका धेरै सन्देश फेला परेको प्रारम्भिक जानकारी आएको छ ।
अपराध अनुसन्धान कार्यालयले एनपीएल सञ्चालन भइरहेका बेला विदेशी नागरिकसम्म सक्रिय रूपमा भित्रिएको सट्टेबाजी सञ्जालले नेपालको खेलकुद क्षेत्रमा अवैध गतिविधिको जोखिम बढ्दै गएको संकेत दिएको जनाएको छ । प्रहरीले पक्राउ परेकालाई कानुनी प्रक्रिया अघि बढाइने बताएको छ ।

























