
विराटनगर । लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङको लेटाङबाट शुक्रबार राति २ जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ६ हजार ४ सय रूपैयाँ नगद पनि बरामद भएको छ ।
लेटाङ नगरपालिका–५ खेरुवाबाट २२ वर्षीय सन्दीप धिमाल र ३१ वर्षीय प्रवीन राई पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले राति १०ः३० बजेतिर ना ३ प २६८७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
त्यस क्रममा मोटरसाइकलको पछाडि सवार उर्लाबारी नगरपालिका–२ का २२ धिमालको साथबाट २ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । त्यसलगत्तै प्रहरीले धिमाल र लेटाङ–५ का राईलाई पक्राउ गरेको हो ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























