
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादी र केन्द्रीय कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ । दुवै पक्राउ मोरङको पथरीशनिश्चरे नगरपालिका–३ बाट भएका हुन् ।
प्रहरीले हातहतियार खरखजना मुद्दामा अदालतबाट सजाय तोकिएका एक व्यक्तिलाई मंसिर १५ गते राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका वडा–३ बस्ने वर्ष ३४ का राजकुमार तुम्बापो छन् । मोरङ जिल्ला अदालतको २०८१ वैशाख ६ गतेको फैसला अनुसार उनलाई २ महिना ११ दिन कैद सजाय तोकिएको थियो ।
अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको टोलीले निजलाई निजकै घर वतनमा फेला पारी पक्राउ गरेको र उनीमाथि इलाका प्रहरी कार्यालय पथरीमा थप अनुसन्धान भइरहेको छ।
केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँबाट भागेका एक कैदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–३ बस्ने वर्ष ३४ का किशान आङ्देम्बे छन् ।
लागूऔषध मुद्दाका कैदी आङ्देम्बे भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पनि निजकै घर वतनबाट फेला पारी नियन्त्रणमा लिएको र इलाका प्रहरी कार्यालय पथरीमा ल्याएर राखिएको छ।
पक्राउ परेका दुवै जनालाई अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित निकायमा पठाइने प्रहरीले जनाएको छ ।

























