
विराटनगर । मोरङको लेटाङमा १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनामा डेढ महिना लामो सघन अनुसन्धानपछि प्रहरीले सफलता पाएको छ।
बालिका बेपत्ता भएको २ महिना र शव भेटिएको ४४ दिनपछि प्रहरीले हत्यामा संलग्न ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले यो अनुसन्धानलाई ‘जस्टिस फर अंशु गौतम’ अर्थात् ‘अपरेशन जग’ नाम दिएर अघि बढाएको थियो।
घाँटी थिचे, हँसियाले रेटे
गत असोज २१ गते दिउँसो अंशु आफ्नी छिमेकी साथी युरिकासँग स्कुल चोकमा खेलिरहेकी थिइन्। त्यहीँ पुगेका छिमेकी पदमबहादुरले चलाखीपूर्ण तरिकाले युरिकालाई ५ रुपैयाँ दिएर अन्तै पठाए। एक्लै भएकी अंशुलाई उनले घाँस काट्न सघाइदिए पैसा दिन्छुु भन्दै प्रलोभनमा पारे।
पैसाको लालचमा परेकी अंशु पैदलै जंगलतर्फ लागिन्। केही बेरपछि सुनसान स्थानमा पुगेर अधिकारीले बालिकामाथि जबर्जस्ती करणीको प्रयास गरे। बालिकाले प्रतिकार गर्दा समेत उनले जबरजस्ती गरे।
पोल खुल्ने डर र पुरानो रिसइबीको भावना मिसिएपछि उनले अंशुको घाँटी थिचे। घाँटी थिच्दा मृत्यु भइसकेकोमा शंका लागेपछि उनले साथमा रहेको हँसियाले घाँटी रेटेर बीभत्स हत्या गरे। शवलाई त्यहीँ छाडेर उनी घाँसको भारी बोकी घर फर्किए।
शंका नहोस् भन्दै खोजीमा सक्रिय
हत्यापछि अधिकारीले चलाखीपूर्ण व्यवहार देखाए। साँझसम्म बालिका घर नफर्किएपछि उनी स्वयम् परिवारसँगै खोजीमा जुटे। प्रहरीमा उजुरी दिँदादेखि शव भेट्टाउने काममा समेत उनी सक्रिय देखिए। बालिकाले मोबाइल नबोक्नु र घटनाको प्रत्यक्षदर्शी कोही नहुँदा प्रहरीलाई अनुसन्धानमा ठूलो चुनौती उत्पन्न भयो। मोरङ प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यो भने १६ जनाको ‘पोलिग्राफ टेस्ट’ समेत गर्यो।
छोरा छुट्नु नै बन्यो ‘क्लु’
छिमेकी र वृद्ध भएकाले सुरुमा पदमबहादुरमाथि प्रहरीले खासै शंका गरेको थिएन। तर, डेढ महिना लामो अनुसन्धान साँघुरिँदै जाँदा एउटा संयोगले घटनाको मोड बदल्यो। जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते कैद भुक्तान गरेर घर फर्किए। छोरा आएको भोलिपल्टै (कात्तिक १९ गते) पदमबहादुर भने ‘कमाउन जान्छु’ भन्दै कसैसँग सल्लाह नगरी हतारमा भारतको मेघालयतिर लागे।
छोरा जेलबाट छुट्नु र बाबु लगत्तै भाग्नुलाई प्रहरीले गम्भीरतापूर्वक लियो। यही विन्दुबाट अनुसन्धान पदमबहादुरमा केन्द्रित भयो।
बाल्टीमा रगत देखेपछि…
भारतको मेघालयमा गाई फर्ममा काम गर्न थालेका अधिकारीलाई प्रहरीले आफन्त मार्फत घर बोलाउने प्रयास गर्यो। सुरुमा आनाकानी गरे पनि उनी मंसिर १८ गते घर फर्किए। नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुरुमा उनले इन्कार गरे।
प्रहरी स्रोतका अनुसार, भारतमा गाई दुहुने क्रममा बाल्टीमा रगत देखेपछि उनलाई अंशुको हत्या गरेको बीभत्स दृश्य याद आएको र निकै आत्मग्लानी भएको बयान दिएका छन्।
‘बाबुआमासँगको पुरानो रिसइबी र तत्कालको आवेशका कारण घटना घटाएको हुँ, अहिले मलाई पश्चाताप छ,’ अधिकारीको बयान उद्धृत गर्दै प्रहरीले भन्यो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेका अधिकारीविरुद्ध जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

























