
काठमाडौं । नेपाल प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) पुष्कर कार्कीले ४ महिने छोराको हत्या गरेका छन् ।
काठमाडौंको सिनामंगलमा कोठा लिएर कार्कीको परिवार बस्दै आएको थियो । भाडामा लिएको कोठामै उनले घाँटी रेटेर ४ महिने छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।
छोरालाई जन्मदै ‘ब्रेन ट्युमर’ थियो । सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर ४ महिने शिशुको हत्या गरेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
छोराको हत्यापछि पत्नीलाई पनि कुटपिट गरेर कार्की फरार भएका थिए । कार्कीकी पत्नी पनि नेपाल प्रहरीमै कार्यरत रहेको बताइएको छ । एसपी भट्टराईका अनुसार छोराको हत्या गरेर फरार भएका असई कार्कीलाई आइतबार साँझ पक्राउ गरिएको छ ।
कार्कीलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी भट्टराईले दिए ।

























