सुनसरीमा ‘सार्प सुटर’ लगाएर सफारी चालकको हत्या, घटनामा प्रयोग भएको हतियार भेटिएन

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १३:१४

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ मा ‘सार्प सुटर’ लगाएर सीटी सफारी चालकको हत्या गरिएको पत्ता लागेको छ ।

‘सार्प सुटर’ले गोली हानेर सफारी चालक रामधुनी–२ का ४५ वर्षीय दिनेशकुमार चौधरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । चौधरीको प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफारी थियो । उक्त सफारी उनी आफैं चलाउँथे ।

सफारी लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको कर्मनिया टोलमा अज्ञात समूहले गत असोज २५ गते साँझ चौधरीमाथि गोली प्रहार गरेको थियो । मोटरसाइकलमा रहेका व्यक्तिहरु गोली हानेर फरार भएका थिए । घटना भएको करिब २ महिना पुग्न लाग्दा हत्यामा संलग्न भएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंसिर १७ गतेबाट लागू हुने गरी अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले बताए । बायाँ छातीमा गोली लागेको र शरीरबाट अत्यधिक रगत बगेको घाइते अवस्थामा भेटिएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

चौधरीको हत्यामा संलग्न रामधुनी–१ झुम्काका ४३ वर्षीय राजेश भनिने राजकिशोर साह, उनका भाइ ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज नगरपालिका–१६ का २८ वर्षीय अंकित साह, राजविराज–९ आँखा अस्पताल छेउका २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथलेश यादवलाई पक्राउ गरिएको एसपी थेवेले बताए । घटनामा संलग्नमध्ये ७ जनालाई पक्राउ गरेर कानुनको दायरामा ल्याएसँगै सुनसरी प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार मृतक चौधरी गाउँघरमा सामान्य धामीझाँक्रीको काम पनि गर्थे । धामीको काम गर्ने उनले तन्त्रमन्त्र गरी लामो समयदेखि परिवारका सदस्यलाई बिरामी बनाएर दुःख एवं हैरानी दिएको भन्दै दाजुभाइ राजकिशोर र नन्दकिशोर साहले योजना बनाएर चौधरीको हत्या गरेको पत्ता लागेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार दाजुभाइले योजना बनाएर मोहमद इब्रान मियालगायतका व्यक्तिसँग रकमको लेनदेन गरी चौधरीको हत्या गरेको खुलेको छ । ‘चौधरीको हत्याका लागि ६ लाख ५० हजार रूपैयाँमा ‘डिल’ भएको रहेछ । हत्याअघि ३ लाख रूपैयाँको लेनदेन पनि भएको पाइयो । अब ३ लाख ५० हजार रूपैयाँ दिन बाँकी रहेछ,’ प्रहरी स्रोतले भन्यो ।

स्रोतका अनुसार चौधरीको हत्याका लागि राजकिशोर र नन्दकिशोरले पैसाको व्यवस्था गर्ने तथा अंकित र प्रिन्सले ‘सार्प सुटर’को खोजी गर्ने गरी योजना बनेको रहेछ । दाजुभाइबाट पैसा लिएपछि अंकित र प्रिन्सले मोहमद इब्रान मियालगायतका व्यक्ति प्रयोग गरेर सफारी चालक चौधरीको हत्या गराएको प्रहरीको दाबी छ ।

‘चौधरीमाथि पेस्तोलबाट गोली प्रहार भएको रहेछ । उक्त पेस्तोल ‘सार्प सुटर’ आफैंले ल्याएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले भने गोली हान्ने व्यक्तिका रूपमा मोहमद इब्रान मियालाई उभ्याएको छ ।

तर, गोली अर्कै व्यक्तिले प्रहार गरेको र पक्राउ पर्न बाँकी रहेको स्रोतको दाबी छ । प्रहरीका अनुसार घटनामा संलग्न ३–४ जना अझै पक्राउ पर्न बाँकी छन् । ‘गोली हान्नेलगायतका केही व्यक्ति अझै पक्राउ परिसकेका छैनन् । घटनापछि फरार रहेका उनीहरुको खोजी जारी छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार गोली हान्ने मुख्य ‘सार्प सुटर’ अझै फेला परेका छैनन् । घटनामा प्रयोग गरिएको हतियार पनि प्रहरीले अझैसम्म बरामद गर्न सकेको छैन । उक्त हतियार कहाँ छ भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

घटनापछि प्रहरीले प्राविधिक पक्षको विश्लेषण गर्दै स्थानीय र परिवारका सदस्यको भनाइका आधारमा अनुसन्धान अघि बढाएको थियो । तर, हालसम्म गोली हान्ने मुख्य व्यक्ति पक्राउ नपरेको र हतियारसमेत नभेटिएको बताइएको छ ।

डीएपसी खड्काले घटनामा संलग्न अझै केही व्यक्ति पक्राउ पर्न बाँकी रहेको बताए । ‘पक्राउ पर्न बाँकी रहेकाको खोजी जारी छ । हतियार पनि खोज्दैछौं,’ उनले भने ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.