
विराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित सिन्धुपाल्चोक घर भएका १ जना युवक पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको हेरम्बु गाउँपालिका–६ घर भएका ३४ वर्षीय दावा लामा होल्मोलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । भारतको जोगवनीबाट पैदल नै नेपाल आउँदै गर्दा शंका लागेपछि दावामाथि लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गरेको थियो ।
उनलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट दिउँसो ३ बजेतिर नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । दावाको साथबाट ५८.१४ ग्राम खैरो हेरोइन बरामद भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषध खरिद गर्नकै लागि विराटनगर आएर भारतको जोगवनी पुगेको पत्ता लागेको छ । जोगवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरेर फर्कदै गर्दा उनी नेपाल–भारत सीमा क्षेत्रनजिकबाट समातिएका हुन् ।
दावालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले दावामाथि थप अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























