
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवालाई प्रहरीले अढाई महिनापछि पक्राउ गरेको छ ।
मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले बताइन् । राजु चोरी मुद्दाका अभियुक्त हुन् ।
जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो । कारागारमा बन्दी जीवन बिताइरहेका राजुलाई अचानक पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि असोज १२ गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो ।
उपचाररत अवस्थामै शौचालय लैजाने क्रममा उनी सुरक्षाका लागि खटिएका प्रहरीलाई छलेर शौचालयको भेन्टिलेसनबाट हामफालेर सोही दिन राति ८ः२० बजेतिर फरार भएका थिए । लामो समयदेखि खोजी जारी राखिएका राजुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहानका राति ४ः२५ बजेतिर पक्राउ गरेको हो ।
उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका थिए । राजुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको डीएसपी चुँडालले बताइन् ।
त्यस्तै, विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट भागेकामध्ये १ जना बाल बिज्याइँकर्ता पनि फेला परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–६ का १९ वर्षीय बाल बिज्याइँकर्तालाई प्रहरीले शुक्रबार बिहानका राति पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका ती बाल बिज्याइँकर्ता गत कात्तिक २० गते दिउँसो ४ः२० बजेतिर सुधारगृहबाट फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले उनलाई विराटनगर महानगरपालिका–४ कञ्चनबारी नजिकबाट बिहानका राति १ः१५ बजेतिर पक्राउ गरेको डीएसपी चुँडालले बताइन् ।
उनका अनुसार फरार रहेका बाल बिज्याइँकर्तालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । अहिले पक्राउ परेकासहित ७ जना बाल बिझ्याइँकर्ता बाल सुधारगृहबाट कात्तिक २० गते फरार भएका थिए ।
बाल सुधारगृहको सुरक्षामा खटिएका प्रहरीलाई धक्कामुक्की गरेर भागेकामध्ये २ जना यसअघि नै पक्राउ परिसकेका छन् । हालसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको छ । अब ४ जना भागिरहेको र उनीहरुको खोजी जारी राखिएको जानकारी डीएसपी चुँडालले दिइन् ।
त्यतिबेला बाल बिज्याइँकर्ताको धक्कामुक्कीका कारण ३ जना प्रहरीसमेत सामान्य घाइते भएका थिए । फरार हुनेहरु १८ वर्षमाथिका छन् । सुधारगृहमा विभिन्न उमेर समूहका र क्षमताभन्दा बढी बिझ्याइँकर्ता एकै ठाउँमा राखिएकाले समय–समयमा समस्या आउने गरेको छ ।

























