
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ । मङ्सिर १७ गते बसेको ट्रान्सपरेन्सी नेपालको बैठकले यो निर्णय गरेको हो।
महान्यायाधिवक्ता भण्डारीले किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेकी थिइन् । सोही मुद्दा नचलाउने निर्णयमाथि सर्वोच्च अदालतले महान्यायाधिवक्ता भण्डारीलाई कारण देखाऊ आदेश जारी गरेको छ ।
संस्थाका पदाधिकारीहरूका अनुसार यही विवादित निर्णयका कारण उनलाई निलम्बन गरिएको हो । वरिष्ठ अधिवक्ता भण्डारी खेमराज रेग्मी अध्यक्ष हुँदा ट्रान्सपरेन्सी नेपालको कार्यसमिति उपाध्यक्ष समेत बनेकी थिइन् । उनको निर्णय विवादमा आएपछि संस्थाले उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिए पनि उनले अस्वीकार गरेकी थिइन्।

























