
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख एवं मेयर हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ परेका छन् ।
साम्पाङले आफ्नो नेतृत्वमा श्रम, संस्कृति पार्टी खोलेका छन् । उक्त पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज)लाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको कपनबाट पक्राउ गरेर उनलाई पाँचथर लगिएको छ । सीआईबीका एआईजी मनोज केसीले लामालाई पक्राउ गरिएको पुष्टि गरे ।
पाँचथरमा २०८१ भदौ १३ गते भएको बम विस्फोटमा २ जना बालबालिकाको मृत्यु भएको थियो । २ जना बालबालिका घाइते भएका थिए । उक्त घटनामा लामा जोडिएका हुन् ।
उक्त घटनामा लामाविरुद्ध मुद्दा दायर भएको थियो । तर, पक्राउ परेका थिएनन् । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको जानकारी एआईजी केसीले दिए ।
पाँचथरको फलेलुङ गाउँपालिका–५ स्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा ज्ञानबहादुर राईका छिमेकी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र २ वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो ।

























