
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना केही बेरमा सुरु हुँदैछ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार यसपटक सबै पदका उम्मेदवारहरूको मतपरिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी गरिएको छ ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाले परिणाम छिटो आउने अपेक्षा गरिएको छ । हाल मेसिनहरूबाट ‘चिप’ निकाल्ने र प्राविधिक रुजु गर्ने काम अन्तिम चरणमा पुगेकाले गणना सुरु भएको तीन घण्टाभित्रै सम्पूर्ण नतिजा घोषणा गरिने आयोगले जनाएको छ ।
यसपटक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । अध्यक्षका साथै १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि यो निर्वाचन भएको हो । निर्वाचन आयोगले भृकुटीमण्डपमै मतपरिणाम सार्वजनिक गर्ने र नवनिर्वाचित नेतृत्वको शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

























