
विराटनगर । हिरासतबाट भागेका एक अभियुक्तलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनको समयमा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा थुनुवा रहेका शेर्पालाई प्रहरी टोलीले सोमबार बिहान ९:४० बजेको समयमा दमक नगरपालिका–६ बाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आन्दोलनका क्रममा भएको भिडभाड र अन्य परिस्थितिको फाइदा उठाउँदै उनी हिरासतबाट भाग्न सफल भएका थिए ।
पक्राउ परेका शेर्पालाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

























