
विराटनगर । विभिन्न मुद्दामा सम्बन्धित तर फरार रहेका ३ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले आज (सोमबार) पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार विशेष अदालत काठमाडौं तथा संखुवासभा जिल्ला अदालत चैनपुरको फैसला तथा आदेशअनुसार फरार रहेकाहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मेनुका तामाङ संखुवासभा खाँदबारी नगरपालिका–६ की छन् । उनी मापदण्ड विपरीत निर्माण कार्य गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भई फरार रहँदै आएकी थिइन् । यसैगरी सिलिचोङ गाउँपालिका–४ का विक्रम विश्वकर्मा संखुवासभा पनि पक्राउ परेका छन् । उनी चेक अनादर मुद्दामा फरार थिए ।
त्यस्तै, खाँदबारी नगरपालिका–३ का दावा शेर्पा चेक अनादर मुद्दामा फरार रहँदै आएका थिए । विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरेको प्रहरीले जनाएको छ ।

























