
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्यामा संलग्न रहेका कैदी आकाश मगर पक्राउ परेका छन् । प्रहरीले उनलाई रोल्पाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको छ । नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतका अनुसार फरार रहेका मगरलाई विशेष खोजीका क्रममा रोल्पामा फेला पारिएको हो ।
घटना गत असोज १३ गतेको हो । लुटपाट र डकैतीको अभियोगमा जेल सजाय काटिरहेका मगर गत भदौ २४ गते कारागारमा भएको तोडफोड र प्रदर्शनको मौका छोपेर फरार भएका थिए । कारागारबाट भागेको केही समयपछि उनले ठमेलमा २५ वर्षीय तामाङ थरका युवकलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । मनमैजु बस्दै आएका ती युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त हत्या पुरानो रिसइबीका कारण भएको देखाएको छ । घटनास्थल वरपरको सीसीटीभी फुटेज र प्राविधिक अनुसन्धानका आधारमा हत्यामा मगरको प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । विभिन्न म्यानुअल र प्राविधिक विधिको प्रयोग गर्दै अन्ततः प्रहरीले उनलाई रोल्पामा लुकिछिपी बसेको अवस्थामा फेला पार्न सफल भएको हो ।
पक्राउ परेका मगरमाथि थप कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। कारागार तोडफोड गरेर फरार हुनु र पुनः हत्या जस्तो गम्भीर अपराधमा संलग्न हुनुलाई प्रहरीले निकै गम्भीरताका साथ लिएको छ ।

























