
विराटनगर । सुनसरीको धरान उप-महानगरपालिकामा प्रहरीले लागूऔषध र धारिलो हतियारसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमध्ये एक जना झुम्का कारागारबाट फरार भएका कैदीसमेत छन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो धरान उप-महानगरपालिका – ७, श्रीजंग मार्गस्थित म्याक्स लिम्बुको घरमा छापा मारेको थियो ।
खानतलासीका क्रममा घरबाट प्रतिबन्धित औषधि र हतियार बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घरबाट लागूऔषध ट्रामाडोल ५७० ट्याब्लेट र स्पासपेन ५५० क्याप्सुल बरामद भएको छ ।
घरभित्र लुकाएर राखिएको अवस्थामा १ थान तरबार, २ थान खुकुरी, २ थान कट्टी, धार लगाउने ग्लेण्डर १ थान र सानो बन्चरो १ थान समेत फेला परेको छ ।
यी हुन पक्राउ परेकाहरू
लागूऔषध र हतियार कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।
१. म्याक्स लिम्बु (२५ वर्ष) –धरान-०७
२. संसार थापा (२८ वर्ष) – धरान-०७
३. सन्देश लिम्बु (१९ वर्ष) – धरान-१५
४. मनिष परियार (१७ वर्ष) – धरान-०७
पक्राउ परेकामध्ये १९ वर्षीय सन्देश लिम्बु लागूऔषध मुद्दाका फरार कैदी हुन् । उनी जेनजी आन्दोलनको समयमा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए । फरार रहेकै अवस्थामा उनी पुनः लागू औषध र हतियारसहित पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

























